हुम्ला , असोज १५। लगातारको वर्षापछि हुम्लाको सिमकोट गाउँपालिका–५ स्थित हेल्दुमखोलामा रहेको काठे पुलको एक भाग भत्किएपछि कस्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण पुलको एकपट्टिको भाग भत्किएर जीर्ण अवस्थामा पुगेको स्थानीय किसान सुनारले बताए । पुल जीर्ण भएपछि सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी तथा पशुवस्तुलाई वारपार गर्न कठिन भएको उहाले बताउनुभएको छ ।स्थानीयका अनुसार काम विशेषले दैनिक सदरमुकाम सिमकोट आउजाउ गर्नुपर्ने भए पनि पुलको अवस्था जीर्ण हुँदा जोखिम मोलेर यात्रा गर्नुपरेको छ । पुलसँगै कतिपय स्थानीय खोला हुँदै समेत वारपार गर्न बाध्य भएका छन् ।ठेहेदेखि सदरमुकाम सिमकोट जोड्ने सडकका विभिन्न खण्डसमेत अवरुद्ध भएपछि स्थानीयको आवतजावत थप प्रभावित भएको छ । लाङदु, लभ्ली डाँडा, बरगाउँ, चिचिडेनी र पैरापोरीलगायतका क्षेत्रमा पहिरो तथा ठूला ढुंगा खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई आवतजावतमा बढी समस्या भएको स्थानीयको गुनासो छ । सडक अवरुद्ध भएको एक साता बितिसक्दा पनि समयमै खुलाउन नसकिएको उहाहरुको भनाइ छ । सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर बुढाका अनुसार सदरमुकामदेखि वडा नम्बर १ र २ जोड्ने अवरुद्ध सडक खुलाउने काम बुधबारदेखि सुरु भएको छ । उहाका अनुसार गाउँपालिका–३ बुराउँसे क्षेत्रमा पनि वर्षाका कारण अवरुद्ध सडक जेसीभी प्रयोग गरेर खुलाउने काम भइरहेको छ । पालिकाभित्र वर्षाका कारण अवरुद्ध भएका छोटो दूरीका सबै सडक अबको एक–दुई दिनभित्र सञ्चालनमा ल्याउने तयारी रहेको बुढाले बताउनुभयो ।यसैबीच, लगातारको वर्षाका कारण कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिकाका विभिन्न सडक खण्डसमेत अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खार्पुनाथ गाउँपालिकाको मुसेडी र लालीबगर क्षेत्रमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडकमा जेसीभी परिचालन गरी यातायात सञ्चालनमा ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयो ।










