विराटनगर,१९ असोज। विराटनगर महानगरपालिका–१४ रानीस्थित विराटनगर आँखा अस्पतालमा सेयर खरिद–बिक्रीको रकमलाई लिएर अस्पताल सञ्चालक र पूर्वसेयरधनीबीच विवाद चर्किएको छ ।
अस्पताल सञ्चालक पक्षले पूर्वसेयरधनीलाई सेयरबापतको रकम बैंक तथा नगदमार्फत भुक्तानी गरिसकेको दाबी गरेको छ । पूर्वसेयरधनीहरूले भने आफूहरूले सेयर बिक्रीबापत पाउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले सार्वजनिक गरेको भुक्तानी विवरण अस्वीकार गरेका छन् ।
२०७८ सालमा करिब ३ करोड रुपैयाँ लगानीमा १६ जना सेयर सदस्य मिलेर स्थापना भएको अस्पताल अपेक्षाअनुसार सञ्चालन हुन नसकेपछि सेयर सदस्यहरू क्रमशः बाहिरिन थालेका थिए । २०८२ जेठबाट नयाँ व्यवस्थापनले अस्पताल सञ्चालनको जिम्मा लिएपछि पूर्वसेयरधनीलाई रकम दिने सहमति भएको बताइएको छ ।
अस्पताल व्यवस्थापनका अनुसार अस्पतालको अवस्था कमजोर रहेको अवस्थामा जिम्मेवारी लिएपछि थप करिब २ करोड ५० लाख रुपैयाँ लगानी गरिएको थियो । हालसम्म अधिकांश सेयरधनीले सेयर बिक्रीको रकम लिएर बाहिरिसके पनि चार जना पूर्वसेयरधनीसँगको कारोबारमा विवाद कायम छ ।
अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार चार जनालाई सेयरबापतको रकम बैंकमार्फत र केही नगदमा भुक्तानी गरिएको छ । अस्पतालको दाबीअनुसार उनीहरूलाई ब्याजसहित करिब १ करोड ६० लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
तर, पूर्वसेयरधनीहरूले भने उक्त रकम आफ्नो सेयर बिक्रीको भुक्तानी नभएको दाबी गरेका छन् । अस्पतालले देखाएको कतिपय बैंक कारोबार व्यक्तिगत वा अन्य प्रयोजनको भएको उनीहरूको भनाइ छ ।
विवादमा ‘ग्यारेन्टी चेक’समेत मुख्य विषय बनेको छ । अस्पताल सञ्चालक पक्षले कारोबारका क्रममा सुरक्षाका लागि पूर्वसेयरधनीलाई व्यक्तिगत खाताबाट चेक दिएको स्वीकार गरेको छ । रकम भुक्तानी भइसकेपछि ती चेक फिर्ता हुनुपर्ने भए पनि फिर्ता नभएको र त्यसैलाई आधार बनाएर बैंकिङ तथा कालोसूचीसम्बन्धी प्रक्रिया अघि बढाइएको अस्पताल पक्षको आरोप छ ।
पूर्वसेयरधनीहरूले भने ग्यारेन्टी चेक साट्न खोज्दा खातामा पर्याप्त रकम नभएको र पटक–पटक रकम माग्दा पनि सेयर बिक्रीबापतको भुक्तानी नपाएको बताएका छन् ।
अस्पताल व्यवस्थापनले आफूहरूसँग बैंक कारोबार तथा नगद भुक्तानीका प्रमाण रहेको जनाएको छ । विवाद समाधानका लागि अदालतको प्रक्रियासमेत अघि बढेको बताइएको छ । उच्च अदालत विराटनगरको आदेशपछि असोज ६ र ७ गते करिब १ करोड ६० लाख रुपैयाँ बैंकमा जम्मा गरिएको अस्पताल पक्षको भनाइ छ ।
तर, पूर्वसेयरधनीहरूले बैंकमा रकम जम्मा गर्दैमा आफूहरूले सेयर बिक्रीको रकम पाएको प्रमाणित नहुने बताएका छन् ।
यसअघि चार पूर्वसेयरधनीले करिब १ करोड ५८ लाख रुपैयाँ सेयर बिक्रीबापत नपाएको दाबी गरेका थिए । त्यसपछि अस्पताल व्यवस्थापनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपलाई अस्वीकार गर्दै आफूले गरेको भुक्तानीको विवरण सार्वजनिक गरेको हो ।
यसरी विराटनगर आँखा अस्पतालको विवादमा सेयरको रकम भुक्तानी भएको वा नभएको, बैंक तथा नगद कारोबार कुन प्रयोजनका लागि भएको थियो र ग्यारेन्टी चेक कुन दायित्वका लागि दिइएको थियो भन्ने विषय मुख्य बनेको छ ।
विवादको वास्तविकता सेयर खरिद–बिक्रीसम्बन्धी सम्झौता, बैंक स्टेटमेन्ट, चेकको अभिलेख, नगद भुक्तानीका प्रमाण तथा अदालतको आदेशबाट स्पष्ट हुने देखिन्छ ।









