सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित एक थान मोटरसाइकल बरामद गरेको छ।विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देख्ना साथ भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकलका चालक सवारी र कपडा बाटैमा छाडेर फरार भएका थिए। प्रहरीले घटनास्थलबाट विभिन्न प्रकारका तयारी लत्ताकपडा र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बरामद गरिएका कपडा तथा मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखिएको छ। फरार चालकको हुलिया पहिचान गरी खोजी तीव्र पारिनुका साथै बरामद सामग्रीलाई थप कारबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।










