दमक, १३ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सिटौलाले राजनीतिप्रतिको नकारात्मक भाष्य बदल्ने र इमानदार तथा जिम्मेवार राजनीतिक संस्कार स्थापित गर्ने बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मेदनी सिटौलाले राजनीति भनेको फोहोरी खेल हो भन्ने आम बुझाइ बदल्नुपर्ने बताएका छन्। राजनीतिलाई सत्ता र कुर्सी प्राप्तिको माध्यमका रूपमा मात्र बुझ्ने प्रवृत्तिको अन्त्य गर्दै देश र समाजलाई अभिभावकत्व प्रदान गर्ने जिम्मेवार कर्मका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ।
सिटौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेसको नयाँ केन्द्रीय टिमले खेल्ने राजनीति क्रिकेटको खेल नभई जनताको विश्वास जित्ने अभियान भएको उल्लेख गर्दै पार्टीको आगामी राजनीतिक दिशाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेका बेला कांग्रेसले नयाँ टिम घोषणा गरेको प्रसङ्ग जोड्दै उनले उक्त टिमले सपथ ग्रहण गरिसकेको र आफू पनि केन्द्रीय सदस्यका रूपमा सपथ लिएको उल्लेख गरेका छन्।
उनले राजनीतिलाई जालीफटाहाको पेसा नभई असल मानिसहरूको सामूहिक कर्मका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। कुनै पनि उग्रताबाट प्रभावित नभई शान्त र शालीन ढङ्गले देश तथा समाजको नेतृत्व गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने उनको धारणा छ।
राजनीतिमा विश्वसनीयता र इमानदारीको महत्व जनताले बुझ्न थालेको उल्लेख गर्दै सिटौलाले नेपाली कांग्रेसलाई विश्वासिलो र इमानदार राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने चुनौती रहेको बताएका छन्।
उनले कांग्रेसको निष्ठा, इमानदारी, सन्तुलित विचार र जिम्मेवार राजनीतिक अभ्यासले अबको राजनीतिलाई दिशा दिने विश्वाससमेत व्यक्त गरेका छन्।










