दमक,१६ कार्तीक ।झापाको दमकमा भाषा, साहित्य, कला र संगीतलाई केन्द्रमा राखेर आयोजित चारदिने महोत्सव सम्पन्न भएको छ। व्यापारिक केन्द्रका रूपमा परिचित दमकमा स्थानीय तथा राष्ट्रियस्तरका स्रष्टा, कलाकार र संगीतकर्मीलाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको महोत्सवले सहरको साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई नयाँ आयाम दिएको छ।नाता फाउन्डेसनको आयोजनामा बिहीबारदेखि आइतबारसम्म सञ्चालन भएको महोत्सवमा साहित्यिक विमर्श, कला प्रदर्शनी, सिर्जनात्मक कार्यशाला, कविता वाचन, गजल तथा सांगीतिक प्रस्तुति र सम्मान समारोह आयोजना गरिएका थिए। महोत्सवमा साहित्यकार, कवि, कलाकार, संगीतकर्मी, युवा उद्यमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको प्रमुख आतिथ्यतामा महोत्सव उद्घाटन गरिएको थियो। उद्घाटनपछि ‘सिर्जनामा युवा’ शीर्षकमा प्यानल छलफल आयोजना गरिएको थियो। सुमन लिङ्देनले सहजीकरण गरेको छलफलमा दिव्या दाहाल, मानाङ लावती र जितेन साम्पाङ सहभागी हुनुन्थ्यो।छलफलमा नयाँ पुस्ताको सिर्जनात्मक सोच, साहित्यिक यात्रा, लेखनका चुनौती र सम्भावनाबारे अनुभव आदानप्रदान गरिएको थियो। युवाले समाजलाई हेर्ने दृष्टिकोण र साहित्यमा नयाँ पुस्ताको सहभागिता बढाउने विषयमा पनि बहस भएको थियो।महोत्सवको दोस्रो दिन ‘आख्यानमा के छ र ?’ शीर्षकमा आख्यान लेखनमाथि विमर्श गरिएको थियो। आख्यानकार श्याम सिंघक, दीपा दाहाल र घनश्याम पथिकले कथा, पात्र, समाज र बदलिँदो समयसँगै आख्यानमा देखिएका प्रवृत्तिबारे विचार राख्नु भएको थियो। समकालीन समाजका अनुभवले आख्यान लेखनलाई कसरी प्रभावित पार्छन् भन्ने विषयमा समेत छलफल भएको थियो।
साहित्य र कलालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले युवा उद्यमी केन्द्रित सत्र पनि आयोजना गरिएको थियो। उक्त सत्रमा एजाज शेख, प्रकाश तामाङ, पुजन चौधरी, रोनाहाङ राई र सिजन दाहालले सिर्जनात्मक सोचलाई व्यवसायमा रूपान्तरण गर्ने अनुभव, चुनौती र सम्भावनाबारे धारणा राख्नु भएको थियो।महोत्सवमा स्थानीय माटो, भाषा, संस्कृति र पहिचानमाथिको बहसले पनि विशेष स्थान पाएको थियो। ‘माटोको सुगन्ध’ शीर्षकको सत्रमा नाता फाउन्डेसनका सल्लाहकार तथा नेपाल लिटरेरी ग्रुपका सचिव साङ्सेन पान्धाकले किरात मुन्धुम प्रतिष्ठानका अध्यक्ष प्रज्ञा मुनाराज शेर्मा, प्रज्ञा सुमिक्रा चेली र रंगवादी कवि तथा युवा दार्शनिक धर्मेन्द्र विक्रम नेम्वाङसँग संवाद गर्नु भएको थियो।पान्धाकले सिर्जना आफ्नो माटो, समाज र पहिचानबाट अलग हुन नसक्ने बताउनु भयो। भाषा, संस्कृति र स्थानीय जीवनशैली नै सिर्जनाका महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले भन्नु भयो, “दमकमा आयोजित यो महोत्सवले स्थानीय माटोको सुगन्ध र यहाँको जीवनशैलीको लय तथा सिर्जनात्मक चेतनालाई राष्ट्रियस्तरको बहससँग जोड्ने अवसर दिएको छ। स्थानीय प्रतिभा र मौलिक पहिचानलाई प्रोत्साहन गर्न यस्ता साझा मञ्च आवश्यक छन्।”
दमकको आफ्नै साहित्यिक अवस्थामाथि केन्द्रित ‘दमकले सिर्जना मार्यो कि मर्यो ?’ शीर्षकको छलफल पनि महोत्सवको आकर्षण बनेको थियो। राम थापा, प्रकाश बुढाथोकी, गोपाल भण्डारी र शिव रेग्मी सहभागी छलफलमा दमकको साहित्यिक इतिहास, वर्तमान सिर्जनात्मक वातावरण, स्थानीय स्रष्टाले पाएका अवसर र आगामी चुनौतीबारे बहस गरिएको थियो।कुनै समय साहित्यिक गतिविधिका कारण परिचित दमकमा सिर्जनाको निरन्तरता र स्थानीय साहित्यिक वातावरणको अवस्थाबारे छलफलमा प्रश्न उठाइएको थियो। साहित्यिक कार्यक्रम आयोजना गर्नुका साथै स्थानीय स्रष्टालाई लेखन, प्रकाशन र सिर्जना प्रस्तुतिका नियमित अवसर उपलब्ध गराउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।महोत्सवमा कविता वाचनले पनि महत्त्वपूर्ण स्थान पाएको थियो। भुटानी स्रष्टा दिल भुटानीसहित विराट किराती, लता खरेल, तिलक राई, वैरागी घिमिरे, देश वनेम, टंक विकल्प, केशव आचार्य, भूमि दाहाल, दुर्गामणि मिश्र, मनु योङहाङ, निहाङ किराती, अभागी थेगुवा, गगन योक्पाङ्देन, नमुना निरौला, एनबी दाहाल, रेखा सापकोटा, रमेशचन्द्र अधिकारी, चन्द्र साम्पाहाम्फे र प्रदीप योङहाङ लगायतका कविले आफ्ना सिर्जना सुनाएका थिए।
कुलपति नगरकोटीले पनि ‘यादहरू’ शीर्षकको कविता वाचन गर्नु भएको थियो। विभिन्न पुस्ता र साहित्यिक पृष्ठभूमिका कविहरूको सहभागिताले कविता वाचनलाई थप विविधतापूर्ण बनाएको थियो।साहित्यिक प्रस्तुतिसँगै संगीतले पनि महोत्सवमा छुट्टै आकर्षण थपेको थियो। सारंगीमा श्याम गन्धर्व र बाँसुरीमा गणेश लाम्साङले मौलिक धुन प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी गजलकार कृष्ण काश्यप, टीका खड्का, आचार्य प्रभा, पवन गौतम, भुपेन्द्रराज तिम्सिना, दिलीप घिमिरे, विवश बलिभद्र कोइराला, याम थुलुङ, राज भट्टराई र महेन्द्र विरहीलगायतले गजल प्रस्तुत गर्नु भएको थियो।चारदिने महोत्सवको समापन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबि राईको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गण पाडाजुँगीका प्रमुख एसपी दिनेश बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुन्थ्यो।
समापन समारोहमा विभिन्न विद्यालय तथा सांस्कृतिक संस्थाले गीत, नृत्य र सांगीतिक प्रस्तुति दिएका थिए। रिलायन्स विद्यालयका विद्यार्थीले गीत प्रस्तुत गरेका थिए भने दमक नेवा खलःले नेवारी सांस्कृतिक नृत्य र रिलायन्स एकेडेमीले साकेला नृत्य प्रस्तुत गरेको थियो।त्यसैगरी जीवन साम्पाङ एन्ड द ब्यान्ड तथा लम्स एन्ड द लास्ट पेजको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। मौलिक सांस्कृतिक नृत्यदेखि आधुनिक सांगीतिक प्रस्तुतिसम्मका कार्यक्रमले समापन समारोहलाई विविधतापूर्ण बनाएका थिए।महोत्सव सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था, प्रायोजक, अतिथि तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।नेपाल लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुढाथोकीले महोत्सवको उद्देश्य दमकमा कला, साहित्य र संगीतका लागि साझा मञ्च निर्माण गर्नु रहेको बताउनु भयो। कला प्रदर्शनी र कार्यशालादेखि साहित्यिक छलफल, संगीत महोत्सव तथा सम्मान समारोहसम्मका कार्यक्रममार्फत स्थानीय सिर्जनालाई राष्ट्रियस्तरका स्रष्टासँग जोड्ने प्रयास गरिएको उहाँले बताउनु भयो।
“यस्ता उत्सवले सहरको सांस्कृतिक पहिचान निर्माण गर्न सहयोग पुग्छ,” बुढाथोकीले भन्नु भयो, “दमकलाई सिर्जना, संवाद र कलाको जीवन्त केन्द्रका रूपमा विकास गर्ने हाम्रो प्रयास हो।”नाता फाउन्डेसनले भाषा, साहित्य, कला र संगीतलाई समाजको पहिचान तथा सभ्यताको आधार मानेको छ। सिर्जनाले मानिसलाई जोड्ने, साहित्यले समाजलाई बुझाउने र कलाले जीवनका अनुभूतिलाई अभिव्यक्त गर्ने संस्थाको अवधारणा छ। स्थानीय माटोमा जन्मिएका प्रतिभा, मौलिक संस्कृति र सिर्जनात्मक सम्भावनालाई राष्ट्रियस्तरको मञ्चमा पुर्याउनु महोत्सवको प्रमुख उद्देश्य रहेको फाउन्डेसनले जनाएको छ।संस्थाले दमकलाई व्यापारिक केन्द्रका रूपमा मात्र नभई सिर्जना, संस्कृति, संवाद र मानवीय सम्बन्धको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। नयाँ पुस्तामा सिर्जनाको चेतना जगाउने, पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्ने र विविध भाषा, संस्कृति तथा कलालाई एउटै मञ्चमा जोड्ने अभियानका रूपमा महोत्सवलाई अघि बढाइएको संस्थाको भनाइ छ।
महोत्सवले स्थानीय प्रतिभा र सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अवसर प्रदान गरेको छ। तर यस्ता आयोजनाको उपलब्धि कार्यक्रम अवधिमा सीमित नराखी स्थानीय स्रष्टालाई निरन्तर अवसर दिने, साहित्यिक कृति प्रकाशनमा सहयोग गर्ने, कला प्रशिक्षण सञ्चालन गर्ने र मौलिक संस्कृतिको अभिलेखीकरण गर्ने काममा जोड्न सके मात्र यसको दीर्घकालीन प्रभाव देखिनेछ।व्यापारिक पहिचान बनाएको दमकले साहित्य, कला र संगीतलाई पनि आफ्नो परिचयको हिस्सा बनाउने प्रयास गरिरहेको छ। महोत्सवमा भएका विमर्श र सिर्जनात्मक प्रस्तुतिले यही प्रयासलाई थप बल पुर्याएका छन्।










