काठमाडौं,१६ कार्तीक । नेपाली कांग्रेसले पत्रकार माथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासन माथि सरकारले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार धरपकड लगायतका घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताँउनु भयो। उहाँले भन्नु भयो, ‘पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासन माथि गम्भीर प्रश्न खडा गरेको छ । पत्रकार धरपकड लगायतका अन्य घटनाप्रति नेपाली कांग्रेस संसदीय दल आपत्ति प्रकट गर्दछ । पक्राउको स्पष्ट आधार, पुर्जी र अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालनले स्वतन्त्र पत्रकारिता माथि अनुचित दबाब मात्र होइन, विधिको शासनविपरीतको स्वेच्छाचारिता हो । यसको जवाफ सरकारले दिनुपर्छ ।’
नेता आङ्देम्बेले सरकारले गर्ने सही काम, जनसरोकारका विषय र सुशासनका सवालमा कांग्रेसको समर्थन रहने तर लोकतन्त्रका आधारभूत मूल्य मान्यताविपरीतका गतिविधि भएमा पार्टीले विरोध गर्ने स्पष्ट पार्नु भयो ।उहाँले भन्नु भयो, ‘नेपाली कांग्रेसले निरन्तर भन्दै आएको छ । वर्तमान सरकारले गर्ने सही कार्य, जनसरोकारको विषय र सुशासनको सन्दर्भमा कांग्रेसको समर्थन छ । तर लोकतन्त्र र विधिको शासन, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण लगायतका सार्वभौम मूल्य मान्यताविपरीत सरकार लागेमा कांग्रेसले विरोध गर्छ र गरिरहन्छ ।’त्यस्तै, उहाँले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्नेमा जोड दिँदै सरकारका सबै काम कानुनी प्रक्रिया र विधिअनुसार हुनुपर्ने बताँउनु भयो । सरकारका गतिविधिमा जवाफदेहिताको अभाव देखिएको उहाँको भनाइ थियो ।
उहाँले भन्नु भयो, ‘न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण्ण राख्नुपर्दछ र राख्नुपर्दछ । सरकारको काम ड्यु प्रोसेस अफ ल कानुनी प्रक्रियाको उचित पालना अनुसार हुनुपर्दछ । तर सरकारको गतिविधि जे गरे पनि हुन्छ, जवाफ दिनुपर्दैन भन्ने मानसिकता र प्रवृत्तिका उपजजस्तो भएर सार्वजनिक भइरहेको छ । यी सबै घटनाहरू मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफूअनुकूलको शासन स्थापित गर्न गरिएको सुनियोजित प्रयत्नको खतरनाक शृङ्खला हो भन्ने नेपाली कांग्रेस संसदीय दलको ठहर छ ।’
कांग्रेसले पत्रकार धरपकड लगायत त्यससँग जोडिएका सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने मागसमेत गरेको छ । घटनामा दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उसको भनाइ छ ।आङ्देम्बेले भन्नु भयो, ‘नेपाली कांग्रेस पत्रकार धरपकड लगायत यससँग जोडिएका सबै विवादित सरकारी गतिविधि स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनबमोजिम कारबाही गरिनुपर्दछ । यसको लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट अडान पनि छ ।’ कांग्रेसले पछिल्ला घटनालाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्थासँग जोडिएको विषयका रूपमा लिँदै सरकारलाई जवाफदेही बन्न आग्रह गरेको छ । संसदीय विशेष समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उसको माग छ ।










