डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ,१६ कार्तीक । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा आमरण अनशनमा बस्नु भएको वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत सोमबार बिहान उहाँलाई इलामबाट काठमाडौँ ल्याइएको हो । इलामको नारायणस्थान मन्दिर परिसरमा २५औँ पटक सत्याग्रह सुरु गर्नु भएको डा.केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको भए पनि स्वास्थ्य अवस्थामा थप जटिलता देखिएपछि उहाँलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो ।

इलामबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि लगिएको छ । उहाँका सहयोगी पवन थापाले थप उपचार आवश्यक देखिएकाले हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जानकारी दिनु भयो । इलाम अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको रगतमा ग्लुकोजको मात्रा अत्यधिक घटेको पाइएको थियो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उहाँको रगतमा ग्लुकोजको मात्रा घटेर प्रतिडेसिलिटर ३५ मिलिग्रामसम्म पुगेको थियो ।टाइप–२ मधुमेहका बिरामीसमेत रहनु भएको केसीको पिसाबमा एसिटोनको मात्रा बढेको, रक्तचाप १००र६० रहेको र मुटुको चालमा समेत अनियमितता देखिएको चिकित्सकहरूले बताँउनु भएको छ। चिकित्सकहरूका अनुसार रगतमा ग्लुकोजको मात्रा अत्यधिक कम हुँदा शरीरका महत्त्वपूर्ण अंगहरूको कार्यक्षमतामा असर पर्न सक्छ । विशेषगरी मस्तिष्क र मुटुको कार्यप्रणाली प्रभावित हुने जोखिम रहन्छ ।

 

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिकित्सकहरूले उहालाई तत्काल आवश्यक उपचार लिन आग्रह गरेका थिए । शरीरमा तरल पदार्थ दिइए पनि उहाँले ग्लुकोज लिन अस्वीकार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ थियो । इलाम अस्पतालका चिकित्सक टोलीले आइतबार पत्रकार सम्मेलन गरी उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी गराएको थियो। थप उपचारका लागि काठमाडौँ लैजान आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई समेत आग्रह गरिएको थियो ।यसैबीच, नेपाल चिकित्सक संघले पनि डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको थियो । संघले उहाँलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गरी आवश्यक उपचारको व्यवस्था मिलाउन र उहाँले उठाँउनु भएको माग सम्बोधन गर्न वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।

 

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि लामो समयदेखि अभियान चलाउँदै आँउनु भएको डा. केसीले सरकारसँग भएका विगतका सहमति कार्यान्वयन नभएको र चिकित्सा शिक्षा सञ्चालनमा न्यूनतम मापदण्डसमेत पालना नगरिएको भन्दै पुनः सत्याग्रह सुरु गर्नु भएको थियो ।उहाँले कात्तिक १२ गते साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा २५औँ आमरण अनशन सुरु गर्नु भएको थियो । यसपटक उहाँको मुख्य असन्तुष्टि कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न सिट निर्धारण गरिएको विषयमा केन्द्रित छ ।चिकित्सा शिक्षा आयोगले उक्त विश्वविद्यालय अन्तर्गत एमबीबीएसका लागि ५०, बीएससी नर्सिङका लागि २०, मेडिकल ल्याबोरेटरी टेक्नोलोजीका लागि १० र बी अप्टोमेट्रीका लागि १० गरी कुल ९० सिट निर्धारण गरेको छ ।

आवश्यक पूर्वाधार र पूर्ण क्षमताको शिक्षण अस्पताल सञ्चालन नगरी शैक्षिक कार्यक्रम अघि बढाउँदा चिकित्सा शिक्षाको गुणस्तर प्रभावित हुने केसीको तर्क छ । उहाँले आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र कानुनी प्रक्रिया पूरा भएपछि मात्रै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राख्दै आँउनु भएको छ।

केके छन् डा. केसीका माग?
डा.केसीले यसपटक चिकित्सा शिक्षा, सार्वजनिक स्वास्थ्य सेवा, सुशासन र विगतका सहमति कार्यान्वयनसँग सम्बन्धित विभिन्न माग अघि सार्नु भएको छ।

उहाँका प्रमुख मागहरू निम्न छन्ः
१. आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङलगायतका कार्यक्रम सञ्चालन गर्न सिट निर्धारण गरिएको निर्णय खारेज गर्नुपर्ने ।

२. तोकिएको मापदण्ड पूरा नगरेका मेडिकल कलेजमा बढाइएका अतिरिक्त सिटको निर्णय खारेज गर्नुपर्ने ।

३. चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव र निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने । छानबिन नसकिएसम्म सम्बन्धित पदाधिकारीलाई निलम्बन गरी दोषी देखिएकालाई कानुनी कारबाही गर्नुपर्ने ।

४.सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र आवश्यक पूर्वाधार तथा जनशक्ति सुनिश्चित भएपछि मात्रै शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने ।

५. सरकारी तथा सार्वजनिक स्रोतबाट सञ्चालित स्वास्थ्य विज्ञानसम्बन्धी शिक्षण संस्थामा कम्तीमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने ।

६। सरकारसँग यसअघि भएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने । इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता पूरा गर्नुपर्ने तथा बर्दिवास मेडिकल कलेज निर्माण परियोजना अघि बढाउनुपर्ने ।

डा.केसीले यसअघि पनि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै पटक पटक आमरण अनशन बस्दै आँउनु भएको छ । उहाँका कतिपय अनशन सरकारसँग सहमति भएपछि टुंगिएका थिए ।

पछिल्लो पटक २०८३ साउन ११ गते सरकारसँग भएको सहमतिसमेत प्रभावकारी रूपमा कार्यान्वयन नभएको उहाँको आरोप छ । सहमति कार्यान्वयन गर्नुपर्ने समयमा सरकारले उल्टै चिकित्सा शिक्षाका न्यूनतम मापदण्ड पूरा नगरेका संस्थालाई कार्यक्रम सञ्चालन गर्न अनुमति दिने तथा सिट वृद्धि गर्ने निर्णय गरेको भन्दै उहाँले असन्तुष्टि जनाँउनु भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ,१६ कार्तीक । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा आमरण अनशनमा बस्नु भएको वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै कांग्रेसद्वारा संसदीय छानबिनको माग

काठमाडौं,१६ कार्तीक । नेपाली कांग्रेसले पत्रकार माथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको

पाथीभरा मार्गको कान्छी थानमा भक्तजनको भीड

ताप्लेजुङ,१६ कार्तीक । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा धाम जाने मार्गमा अवस्थित कान्छी थानमा पूजापाठ गर्दै भक्तजनहरू। धार्मिक आस्था र विश्वासका साथ कान्छी थानमा पूजाआराधना

तिहारका लागि ६४ करोडको झिलिमिली बत्ती आयात, परिमाण घट्दा मूल्य बढ्यो

काठमाडौं,१६ कार्तीक । तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३ / ८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात

दुर्घटनाको जोखिम र ट्राफिक अस्तव्यस्त

काठमाडौं,१६ कार्तीक । काठमाडौंको कोटेश्वर स्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ ।सडकमा आफ्नो लेन नै छाडेर

एसियामा इन्धनको मूल्य दोब्बर बढी

काठमाडौं,१६ कार्तीक । पश्चिम एशियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ । कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध

सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ,१६ कार्तीक। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट जग्गासम्बन्धी प्रशासनिक सेवा सञ्चालन गर्ने घोषणा गर्नु र्भको छ। सोमबार सामाजिक सञ्जालमार्फत