दमक, १६ कात्तिक । झापाको दमक नगरपालिकाले भन्सार छली गरी भित्र्याइएका फूल तथा प्लास्टिकजन्य फूल बिक्री–वितरण गरेको पाइएमा जफत गरी नष्ट गर्ने निर्णय गरेको छ। त्यस्तै, दमक क्षेत्रमा सिटी रिक्सा तोकिएको स्थानमा मात्र पार्किङ गर्नुपर्ने र निर्धारित भाडाभन्दा बढी रकम लिन नपाइने व्यवस्था गर्ने निर्णय गरेको छ।
चाडपर्वका बेला बजार व्यवस्थापन, उपभोक्ता हित र बजारमा देखिएका विभिन्न समस्यालाई सम्बोधन गर्न बसेको सरोकारवाला सहितको बैठकले यस्तो निर्णय गरेको नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले जानकारी दिनुभयो।
बैठकले गैरकानुनी रूपमा भन्सार छली गरी ल्याइएका कुनै पनि प्रकारका फूल लगायत वस्तु तथा प्लास्टिकजन्य फूल बिक्री–वितरण गरेको पाइएमा जफत गरी नष्ट गर्ने निर्णय गरेको हो। त्यस्तै, सिटी रिक्सा चालकले नगरपालिकाले तोकेको स्थानमा मात्र पार्किङ गर्नुपर्ने र निर्धारित भाडाभन्दा अतिरिक्त रकम लिन नपाउने निर्णय पनि गरिएको छ।










