झापा,१६ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट हुने अवैध फूलको आयात र प्लास्टिकका कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक लगाएको छ।खुला सीमाका कारण भित्रिने अवैध तथा प्लास्टिकका फूलले गर्दा स्थानीय किसानको उत्पादन खेर गइरहेको भन्दै किसानहरूले प्रशासनसँग प्रतिबन्धको माग गर्दै आएका थिए।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गर्न सुरक्षा निकायलाई कडा निगरानीको निर्देशन दिनुभएको छ। साथै, प्लास्टिकका फूल भण्डारण वा बिक्री गरेको पाइए कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ।
यस वर्ष झापाका मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई र बुद्धशान्ति लगायतका पालिकाहरूमा दर्जनौँ किसानले व्यावसायिक सयपत्री खेती गरेका छन्। चाडबाडका लागि जिल्लाकै प्राकृतिक फूल पर्याप्त रहेकाले स्थानीय किसानलाई प्रोत्साहन गर्न प्रशासनले सम्पूर्ण जिल्लावासीलाई स्वदेशी सयपत्री र मखमली फूल मात्र प्रयोग गर्न आग्रह गरेको छ। प्रशासनको यस कदमबाट किसानहरूले मिहिनेतको उचित मूल्य पाउने विश्वास लिएका छन्।










