झापा, १९ कात्तिक । झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेचीनगर र कमलमा एक–एक जनाको ज्यान गएको हो । सोमवार बिहान ११ः१५ बजे मेचीनगर –११ सृजनशील टोलमा प्रदेश १–०१–०१५ प ४४५९ नं. को मोटरसाइकल र प्रदेश १–०२–०४९ प २४८९ नं. को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक बुद्धशान्ति –३ बस्ने ६३ वर्षीय केदार खतिवडा गंभीर घाइते हुनु भएको थियो । उहाँलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । उपचारका क्रममा खतिवडाको मंगलवार दिउँसो ४ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर १२ बस्ने बर्ष ५८ का बृहष्पति पाण्डे , मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ६३ को भवानी तिमल्सिना र स्कुटीमा पछाडी सवार बुद्धशान्ति ३ बस्ने बर्ष ६१ की सावित्रा खतिवडा घाइते हुनु भएको थियो । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।त्यस्तै कमलमा स्कूल बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।बुधवार साँझ ६.२० बजे कमल गाउँपालिका ३ शहीदगेट स्थित पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट केर्खातर्फ जाँदै गरेको दमक ९ स्थित सप्तश्री एकेडेमीको मे १ क ६३८नं.को स्कुल बसले बिपरीत दिशातर्फबाट आउँदै गरेको प्र.न.१–०१–०१८प.४८८३नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो । सो मोटरसाइकल उछिट्टिएर दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.न१–०१–००१ख३५५४नं.को ट्रकमा गई ठोक्किएको थियो ।
ट्रकको दाहिने साइडको चक्कामा परी दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम नगरपालिका ८बस्ने बर्ष २७ का पन्चबहादुर लिम्बूको बायाँ हातको बुढी औँलामा चोट लागेको थियो भने सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २१ की माङकुमारी लिम्बूको टाउकोमा चोट लागेको थियो । बोल्न नसक्ने गम्भीर अबस्थाकी माङकुमारीलाई तत्काल उपचारको लागि दमक अस्पताल दमकमा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी केर्खाबाट टोली खटिएर बस चालक दमक ९बस्ने बर्ष ३५ का अतित लिम्बू, ट्रक चालक मेचीनगर १४बस्ने बर्ष ६०का गंगाबहादुर भुजेल र दुबै सवारी साधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक पठाएको छ । घाइते मोटरसाइकल चालक लिम्बूलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।










