दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल थालेको छ।प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको समन्वयमा बिहीबार दमकस्थित इलाका प्रशासन कार्यालयमा पीडित बचतकर्ता र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षबीच प्रत्यक्ष छलफल भएको हो।सम्बन्धित मन्त्रालयका मन्त्रीको पछिल्लो निर्देशनपछि आयोजित छलफलमा पीडित बचतकर्ताका प्रतिनिधिहरूले लामो समयदेखि सहकारीमा फसेको आफ्नो रकम फिर्ता पाउनुपर्ने मागसहित समस्या र सरोकारका विषय राखेका थिए।
यसअघि सहकारीको रकम फिर्ता हुने प्रक्रियाबारे अन्योलमा रहेका बचतकर्ताले व्यवस्थापन समितिको प्रत्यक्ष उपस्थितिमा आफ्ना समस्या राख्ने अवसर पाएका हुन्। मन्त्रीको निर्देशनअनुसार पीडित र व्यवस्थापन समितिबीच प्रत्यक्ष संवाद गराउन स्थानीय प्रशासनले समन्वय गरेको हो।छलफलमा पीडितका माग र समस्यालाई व्यवस्थापन समिति तथा स्थानीय प्रशासनले गम्भीरतापूर्वक लिएको जनाइएको छ। बचत फिर्ताको प्रक्रिया प्रभावकारी बनाउने तथा त्यसका लागि आवश्यक कानुनी र व्यवस्थापकीय कदम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
तुलसी सहकारीको ठगी प्रकरणबाट विशेषगरी दमक शाखाका ठूलो संख्यामा बचतकर्ता प्रभावित भएका छन्। उनीहरूको वर्षौँदेखिको बचत फिर्ता नहुँदा आर्थिक तथा सामाजिक समस्या झेल्नुपरेको छ।बचतकर्ताको रकम फिर्ता गर्ने विषयमा व्यवस्थापन समितिको प्रत्यक्ष सहभागितामा स्थानीय प्रशासनकै रोहवरमा भएको यो छलफललाई पीडितहरूले न्याय र रकम फिर्ताको अपेक्षासँग जोडेर हेरेका छन्।यद्यपि, छलफलमा बचतकर्ताको रकम फिर्ता गर्ने निश्चित मिति, तत्काल भुक्तानी गरिने रकम वा चरणबद्ध भुक्तानीको कार्ययोजना सार्वजनिक भएको छैन। त्यसैले पीडितका लागि अबको मुख्य चासो प्रतिबद्धता व्यवहारमा कहिले र कसरी कार्यान्वयन हुन्छ भन्ने रहेको छ।










