दमक। २४ कार्तिक | झापाका विभिन्न सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिन सञ्चालनमा नरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय झापाले एटीएम सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले केही बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई टेलिफोनमार्फत तत्काल एटीएम सेवा सुचारु गर्न निर्देशन दिनुभएको हो।
उहाँले नेपाल राष्ट्र बैंकका गुनासो व्यवस्थापनसम्बन्धी जिम्मेवारीमा रहनुभएका निर्देशक सुशील पौडेललाई समेत यसबारे जानकारी गराउनुभएको छ।
प्रशासनले जिल्लामा सञ्चालित सबै बैंक तथा वित्तीय संस्थालाई एटीएमलगायत २४ घण्टा सञ्चालन हुनुपर्ने सेवा नियमित राख्न आग्रह गरेको छ। साथै, एटीएम कक्षमा जडान गरिएका सीसीटीभी तथा सुरक्षा उपकरण दुरुस्त राख्न र सुरक्षा गार्डलाई नजिकको सुरक्षा निकायसँग समन्वय गरी सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।










