झापा , २२ कात्तिक । अवैध काठ नियन्त्रण लिने क्रममा झापा शिवसताक्षीको दोमुखामा काठ तस्कर र सुरक्षाकर्मीबीच झडप भएको छ ।गएराति ९ः२० बजे शिवसताक्षी १० दोमुखा स्विमिङ पुलमुनि कन्काई माई नदीमा ४ वटा गाडीको ट्युवमा सखुवा जातको विभिन्न साईजको २१ थान अन्दाजी २२ कि.बि. काठ अवैध चोरी तस्करी गरी लान खोज्ने क्रममा काठ तस्कर र सुरक्षाकर्मीबीच झडप भएको हो ।
१५–२० जनाको संख्यामा रहेका काठ तस्करहरुले ढुंगा हानेपछि सुरक्षाकर्मीहरुले पनि ढुंगा हानेका थिए । काठ तस्कहरुले हानेको ढुंगाले लागेर वन हेरालु शिवसताक्षी वडा नम्बर १० माईधार बस्ने वर्ष ४० का भोला थपलिया र सोही ठाउँ बस्ने वन समितिका सदस्य वर्ष ३८ का बुद्धकुमार लिम्बू घाइते हुनु भएको छ । थपलियाको निधार र दाहिने खुट्टामा चोट लागेको छ । उहाँको कन्काई नगर अस्पताल सुरुङगामा उपचार भइरहेको छ । त्यस्तै देब्रे कुईनोमा चोट लागेका लिम्बूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ ।
अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरी सहायक निरीक्षक गणेशप्रसाद यादवको कमाण्डमा ४ जना र गैडे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामध्वज लावतीको कमाण्डमा १० जना गरी जम्मा १४ जनाको संयुक्त टोली खटिएको थियो । ढुंगाले लागेर घाइते भएपनि सुरक्षाकर्मीहरुको टोलीले काठ नियन्त्रणमा लिन सफल भएका छन् ।सो काठ नियन्त्रणमा लिई गैडे सामुदायिक वनमा बुझाइएको र ढुङ्गा हान्ने मानिसहरु फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।










