दमक, २२ कार्तिक । यस वर्षको तिहारमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकजन्य फूल मात्र नभई भारतबाट आयात गरिएका फूलमा समेत प्रतिबन्ध लगाइएको छ। तर, दमक बजारका अधिकांश पसलमा अप्राकृतिक अर्थात् प्लास्टिकका फूल सजाएर राखिएको प्रशस्तै देख्न सकिन्छ।स्थानीय सरकार दमक नगरपालिकाले यस्ता प्लास्टिकजन्य तथा भारतबाट आयातित फूल बिक्री नगर्न व्यापारीलाई सचेत गराएको थियो। पटक–पटक सार्वजनिक सूचना जारी गरेपछि गत कात्तिक १७ गते नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको नेतृत्वमा बजार अनुगमन समेत गरिएको थियो।
अनुगमनका क्रममा ती फूल जफत गरिए। नगरपालिकाले जफत गरेका फूल नष्टसमेत ग¥यो। तर, व्यापारीले बिक्री गर्न भने छाडेनन्। उनीहरूले अहिले पनि पसल–पसलमा प्लास्टिकका फूल सजाएर बिक्री गरिरहेका छन्।दमक नगरपालिकाले केही वर्षअघि नै सडकपेटीमा व्यापार नगर्न व्यापारीलाई सूचना जारी गरेको थियो। पटक–पटकको अनुगमनमा त्यस्ता सामग्री जफत गर्ने र तत्कालै सडकपेटी खाली गराउने कामसमेत भएको पाइन्छ। तर, अहिले सडकपेटीमा सर्वसाधारण हिँड्नै नसक्ने गरी विभिन्न व्यापारीका सामानले भरिएका छन्।
सरकारका सार्वजनिक सूचना, पटक–पटकको अनुगमन र कारबाही हुँदासमेत अटेर गर्ने व्यापारी। अनि तिनै व्यापारी सामाजिक सञ्जालमा लेखिरहेका हुन्छन्, ‘नेपालमा सुशासन आएन।’ तर, आफूले पालना गर्नुपर्ने नियम र कानुनको जिम्मेवारीबोध उनीहरू आफैँले कति गरेका छन् त?नियम बनाउनु र त्यसको पालना गराउनु राज्यको दायित्व हो। तर, राज्यले मात्रै सबैलाई नियम पालना गराएर बस्न सम्भव हुँदैन। नियम पालना गर्ने जिम्मेवारी नागरिकको पनि हो। कानुन र प्रणालीलाई चुनौती दिँदै त्यसको उल्लङ्घन गर्ने अनि सामाजिक सञ्जालमा सुशासनको भाषण छाँट्ने प्रवृत्तिले समाजलाई कता लैजाला?
असल नागरिकको पहिचान अरूलाई दोष देखाएर होइन, आफूले पालना गर्नुपर्ने नियम पालना गरेर बन्छ। होइन र?










