दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी क्यान्सर पीडित मनीता राईले लगाएको धान भित्र्याउन समस्या भएपछि पार्टीका कार्यकर्ताले श्रमदानमार्फत सहयोग गरेका हुन् ।आर्थिक अवस्था कमजोर रहेकी राईको करिब १६ कठ्ठा जग्गामा काटेर राखिएको धानका बिटा संकलन गरी सुरक्षित स्थानमा पुर्याउन श्रमदाताहरू जुटेका थिए ।
गत बुधबार करिब १५ देखि २० जना श्रमदाताहरू एकैसाथ खेतमा पुगेर धानका बिटा उठाउने र संकलन गर्ने काममा खटिएका थिए । उनीहरूले सामूहिक श्रममार्फत राईलाई धान भित्र्याउन सहयोग गरेका हुन् ।रोगसँगको कठिन संघर्षका बीच खेतीपातीसमेत भित्र्याउनुपर्ने बाध्यतामा रहेकी राईलाई गरिएको यो सहयोगले सामूहिक श्रम र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ ।










