काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताँउनु भएको छ ।कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्बोधन गर्नु भएको बस्नेतले वर्तमान सरकारलाई अधिनायकवादी र प्रतिशोधपूर्ण भएको आरोप लगाँउनु भएको छ ।उहाँले लोकतन्त्रलाई सही बाटोमा ल्याउन तथा भ्रष्टाचार, अनियमितता, घुसखोरी, तस्करी र सरकारी संयन्त्रमा रहेको भनिएको सेटिङविरुद्ध पार्टीले आन्दोलन गर्ने तयारी गरिरहेको बताँउनु भएको छ ।
उहाँले आन्दोलन घोषणा भएपछि नेशनल भोलिन्टियर फोर्ससहित एमालेका युवा सङ्गठनहरू अग्रपङ्क्तिमा उत्रिने दाबी गर्नु भएको छ ।‘जब आन्दोलन घोषणा हुनेछ, हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको मुखबाट आन्दोलन भनेर घोषणा भएको दिन यो युवा पङ्क्तिले देश कब्जा गर्नेछ र बालेनलाई सिंहदरबारबाट घिसारेर माइतीघर मण्डलामा ल्याउनेछ,’ बस्नेतले भन्नु भयो।उहाँले २०८२ भदौ २३ र २४ गते भएको घटनालाई विदेशी शक्तिको षड्यन्त्रको संज्ञा दिँदै त्यसमा बालेन, सुदनलगायतका व्यक्तिहरूको भूमिका रहेको आरोप लगाँउनु भएको छ। विदेशी संस्थाहरूको प्रयोग र आर्थिक परिचालन मार्फत मुलुकका सरकारी संरचना, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी चौकी, उद्योग तथा नेताहरूका निजी निवासमा आक्रमण गरिएको उहाँको दाबी थियो ।
बस्नेतले उक्त घटनामा नेकपा एमाले र पार्टी अध्यक्ष ओलीलाई मुख्य निशाना बनाइएको आरोपसमेत लगाँउनु भयो ।बस्नेतले एमाले अध्यक्ष ओलीको नेतृत्व र राजनीतिक भूमिकाको बचाउ गर्दै नेपालको राष्ट्रियता र विकासका मुद्दामा उनले महत्त्वपूर्ण योगदान गरेको बताँउनु भयो ।नाकाबन्दीका बेला लिएको अडान, चुच्चे नक्सा जारी गर्ने पहल, उत्तर–दक्षिण नाका विस्तारको अवधारणा, रेलमार्ग तथा जलमार्गको योजना, सडक पूर्वाधार निर्माण, ऊर्जा उत्पादन र सामाजिक सुरक्षा कार्यक्रमलाई उहाँले ओली नेतृत्वका महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्नु भयो ।‘केपी ओलीबिनाको नेपाल बनाउन खोजियो, केपी ओलीबिनाको एमाले बनाउन खोजियो, केपी ओलीबिनाको युवा बनाउन खोजियो, यो सम्भव छैन,’ उहाँले भन्नु भयो ।
ओलीको विकल्प खोज्ने प्रयासलाई कार्यकर्ताले अस्वीकार गरिसकेको उल्लेख गर्दै बस्नेतले पार्टीभित्र नेतृत्वको विषयमा भ्रम फैलाउने प्रयास सफल नहुने दाबी गर्नु भयो ।बस्नेतले वर्तमान सरकारलाई विभिन्न विषयमा असफल भएको आरोप लगाउँदै सुकुम्बासी, बाढीपीडित र वैदेशिक रोजगारीमा जाने युवाका समस्या समाधान गर्न नसकेको बताँउनु भयो ।उहाँले सरकारका गतिविधि र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भन्नु भयो, ‘हिजो सुकुम्बासीहरूलाई झुटो आश्वासन दिएको बालेन सरकार, आज सुकुम्बासीहरू सडकमा भनिरहनु भएको छ – बालेन सरकार, हामीलाई बास दे ।’त्यस्तै, बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको उहाँको आरोप थियो । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा भए पनि पीडितले आवश्यक राहत नपाएको भन्दै उहाँले सरकारको आलोचना गर्नु भयो। बस्नेतले सरकारका निकट व्यक्तिहरूमाथि भ्रष्टाचार र सेटिङको आरोपसमेत लगाँउनु भयो ।










