झापा । १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको धानले उचित मूल्य पाउने सुनिश्चित गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान खरिद गर्न लागिएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले मङ्सिर १५ गतेदेखि खरिद प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।
यस वर्ष झापामा कुल १२ हजार क्विन्टल धान खरिद गरिनेछ। जसअन्तर्गत सोना मन्सुली ८ हजार क्विन्टल र रञ्जित मन्सुली ४ हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको छ।
दुवै जातका धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरिएको छ। उक्त परिमाणको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत खरिद गरिनेछ।










