दमक| १० मंसिर | नेपाल सरकारबाट अनुदानमा उपलब्ध गराइएको रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापा प्रशासनले बुद्धशान्तिस्थित एक कृषि भण्डारलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार बुद्धशान्ति गाउँपालिका–३, बुधबारे बजारमा रहेको संजीवनी कृषि भण्डारले अनुदानित मलको बिक्री तथा मौज्दात विवरण देखाउन नसकेपछि कारबाही गरिएको हो।
बुधबार सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा खटिएको अनुगमन टोलीले कृषि भण्डारमा आकस्मिक अनुगमन गरेको थियो।
अनुगमनका क्रममा संजीवनी कृषि भण्डारले साल्ट ट्रेडिङ कर्पोरेसन बिर्तामोडबाट खरिद गरेको २३० बोरा र कृषि सामग्री कम्पनी बिर्तामोडबाट खरिद गरेको १७० बोरा गरी कुल ४०० बोरा रासायनिक मलको विवरण फेला परेको थियो।
त्यसमध्ये गोदाममा २४१ बोरा मल मात्र मौज्दात रहेको र बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण भण्डारले पेश गर्न नसकेको प्रशासनले जनाएको छ।










