इलाममा चियाको पहिलो टिपाइ सुरु

 

 इलाम / इलाममा ‘फर्स्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वका साथ लिने गर्छन् । वर्षभर उत्पादन हुने चियामध्येको सबैभन्दा गुणस्तरीय र राम्रो मूल्यमा बिक्री हुने पहिलो चरणको हरियो पत्तीको मूल्य पनि राम्रै हुने गरेको छ ।

चिया टिपाइ सुरु भएसँगै सूर्योदय नगरपालिकास्थित सुन्दरपानीको गोर्खा टी स्टेटले किसानबाट लिने हरियो पत्तीको मूल्य नै निर्धारण गरेको छ । पूर्ण रूपमा अर्गानिक तयारी चिया उत्पादन र तेस्रो मुलुक निकासी गर्ने गोर्खा टी स्टेटले आगामी दुई वर्ष तीन समूहमा चियाको मूल्य निर्धारण गरेको जनाएको छ । गोर्खाले ‘ए ग्रेड’मा दुई पात एक सुइरो ८० प्रतिशतभन्दा माथि भएको हरियो चियालाई प्रतिकिलो ९७ रुपियाँ ५० पैसा  किसानलाई दिने भएको छ । यस्तै ‘बी ग्रेड’मा ८० प्रतिशतभन्दा कम सुइरो भएको चियालाई प्रतिकिलो ६५ रुपियाँ ५० पैसाका दरले किसानलाई उपलब्ध गराउने भएको छ । ‘सी गे्र’ अर्थात् बी ग्रेडभन्दा कमसल चियालाई ३८ रुपियाँ ५० पैसा प्रतिकिलोका दरले किसानलाई दिने गोर्खाले जनाएको छ । गोर्खाले गत वर्ष किसानलाई हरियो चियाको मूल्य प्रतिकिलो ८७ रुपियाँ ५० पैसाका दरले दिएको थियो ।

गोर्खा टीले आफूलाई चिया बिक्री गर्ने किसान र सहकारीहरूलाई प्रतिकिलो पाँच रुपियाँ चिया सङ्कलनका लागि दिनेगरेको छ । यस्तै उद्योगमै चिया पु-याउने किसान र सहकारीलाई प्रतिकिलो थप पाँच रुपियाँ दिने गरेको गोर्खा टी स्टेललाई चिया बिक्री गर्दै आएको कोल्बुङस्थित इको चिया सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताउनुभयो । गोर्खा टी स्टेटले निकासी गर्ने जर्मनस्थित खरिदकर्ताले ‘मार्केट बोनस’का रूपमा कम्तीमा प्रतिकिलो तीन रुपियाँका दरले सोझै किसानको बैङ्क खातामा पठाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

इको चिया सहकारीले पनि यस वर्ष दुई सय किलो फस्ट फ्ल्स चिया बिक्री गरिसकेको जनाइएको छ । हालसालै मात्र चीनमा ‘गोल्ड मेडल’ पाउन सफल तीनजुरे सहकारी संस्थाले पनि यस वर्षका लागि किसानलाई हरियो पत्तीको प्रतिकिलो एक सय १५ रुपियाँका दरले मूल्य दिनेभएको छ । तीनजुरेले गत वर्षकै मूल्य कायम गरेको तीनजुरे चिया उद्योगका चिया प्राविधिक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । दुई पात एक सुइरो मात्रै चिया लिने यस उद्योगले चैतको १५ गतेदेखि मात्रै चिया प्रशोधनको तयारी हुने उहाँले बताउनुभयो । तीनजुरेमा गत वर्ष ११ हजार किलो तयारी चिया उत्पादन भएको थियो ।

वर्षा नहुँदा असर 

यस वर्ष हिउँदे वर्षा नहुँदा त्यसको असर चियालाई परेको छ । मौसम सुक्खा भएको र पहाडी क्षेत्रमा सिँचाइको वैकल्पिक व्यवस्था नहुँदा त्यसको असर चिया किसानलाई परेको जरवीरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले बताउनुभयो । “जिल्लाभर नै  चिया टिपाइ सुरु हुन अझै केही समय लाग्छ,” उहाँले भन्नुभयो– ‘यस वर्ष समयमा पानी नपर्दा चिया किसानले निकै घाटा बेहोर्नुपर्ने अवस्था छ ।”

 

Share:

Facebook
Twitter
Email
WhatsApp