दमक/
झापाको दमकमा व्यवस्थापन संकायमा अध्ययन गराउने सन्दर्भमा फरक पहिचान बनाएको आस्था कलेज अफ म्यानेजमेण्डले अर्को नौलो काम गरेको छ ।
कलेज स्थापना भएयताकै पहिलो पटक आफ्नो कलेजबाट ‘पास आउट’ भएका विद्यार्थीहरुलाई दिक्षान्त गरि विदाइ गर्दै नयाँ कार्यक्रमको सुरुवात गरेको छ ।
कलेजका सहायक प्रमुख टिका अधिकारीले दिक्षान्त कार्यक्रममा स्वागत गर्दै भन्नु भयो ‘हामीले क्याम्पसमा नयाँ अभ्यास थालेका छौ । विद्यार्थीलाई दिक्षान्त सहित विदाई गर्ने । यो कलेजको नयाँ कार्यक्रम हो । हामी हरेक वर्ष नयाँ नयाँ कार्यक्रम गर्दै आएका छौ ।’
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख टेकनाथ भण्डारीले आस्था कलेज अव स्थानिय स्तरको मात्रै नभएर अन्तराष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न योग्य कलेज बनेको दावि गर्नु भयो । ‘यहाँबाट उत्पादन भएका विद्यार्थीहरु देश तथा विदेशका विभिन्न स्थान र तहमा काम गर्न सक्ने भएका छन् । हामीले त्यो क्षमताको विकास गराएका छौ । त्यसैले यहाँ पढेका विद्यार्थीको क्षमता अन्तराष्ट्रिय बजार सम्म पनि बिक्रि हुन सक्ने भएको छ ।’
उहाँले विद्यार्थीहरुले सिक्नु पर्ने कुरा र पालना गर्नु पर्ने नियम तथा केहि व्यवहारिक ज्ञानका बारेमा पनि कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम झिलझिलेमा रहेको वाटर किङडममा भव्य रुपमा आयोजना गरिएको थियो ।
बिबिसको चौथो वर्षको परिक्षामा सहभागी भएका ७८ जनालाई दिक्षित गरिएको क्याम्पसका प्राध्यापक डम्बर पोखरेलले जानकारी दिनुभयो । ‘७८ जना सबैलाई निमन्त्रणा गरिएको थियो । अहिले यहाँ उपलब्ध भएका विद्यार्थी आए । यहाँ छुटेकाहरुलाई अर्को वर्षको कार्यक्रममा समेट्ने गरिको प्रबन्ध मिलाइएको छ । ’ उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा दिक्षित हुने विद्यार्थीहरुलाई कलेजका प्रमुखले ‘सर्टिपिकेट अफ एप्रिसिएसन’ प्रदान गर्नु भएको थियो । यसपछि कार्यक्रमकी प्रमुख अतिथी दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले कालो टोपि लगाइदिनु भयो । सँगै उभिनु भएका क्याम्पसका सञ्चालक समिती अध्यक्ष बलभद्र कोईरालाले अभिभावकलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
विद्यार्थीहरुले आ आफ्ना अभिभावक लिएर कार्यक्रममा उपस्थित भएका थिए । कलेजले गरेको यस प्रकारको कार्यक्रमबाट आफुहरुमा थप हौसाला मिलेको र आफ्नो पढाईलाई अझ राम्रोसँग पुरा गर्ने प्रतिवद्धता जनाएका थीए ।
भिडियोमा हेरौ









