दमक, ३ भदौ / अहिले सदन र सडकमा खुवैमा पेचिलोगरी उठ्ने विषय भनेको सीप सहितको शिक्षा हो । मास्टर डिग्री गरेर पनि नेपालमा बेरोजगार मात्रै भइयो, अवको शिक्षा यस्तो हुनु पर्यो कि त्यो पढिसकेपछि काम पाइहालियोस् । वा, कामदार भएर काम नगरेपनि स्वरोजगार बन्न सकियोस् ।
हो यही कुरालाई आत्मसाथ गर्दै अहिले सीप सहितको शिक्षाका कार्यक्रम पनि सुरु भएका छन् खासगरी प्राविधिक शिक्षाका रुपमा । प्राविधिक शिक्षा लिएर युवाहरुले काम राम्रै पाएका र दाम राम्रै कमाइरहेका कयौं उदाहरण छन् । केहीले गरेको काम देखेर राज्य पनि उत्साहित बन्यो र लगानी समेत गर्न थाल्यो । राज्यको लगानीले मात्रै पनि नपुगेर यो क्षेत्रलाई प्रवद्र्धन गर्न विभिन्न विदेशी दातृ सस्थाहरु पनि नेपाल आए । आर्थिक र प्राविधिक रुपमा सहयोग गर्न थाले । प्राविधिक शिक्षाका लागि राज्यले प्रतिविद्यार्थी १ लाख १० हजार रुपैयाँ वर्षेनी खर्च गरिरहेको छ । अनि विद्यार्थीको पहुँच बढाउन बर्सेनी ६ अर्ब रुपैयाँ लगानी हँुदै आएको छ । तर पछिल्लो समयमा प्राविधिक विषय पढ्न विद्यार्थीहरुको रुचि कम हुँदै गएको छ ।
उज्यालो खबरको ‘उज्यालो शिक्षा’ मा हामी दमकमा प्राविधिक विषय पढाइरहेका शैक्षिक सस्थाहरुमै पुगेर विद्यार्थीको रुचि घट्नुका कारण के हुन् भन्नेबारेमा सोधीखोजी गर्ने प्रयास गरेका छौं ।
सबैभन्दा पहिला कुरा गरांै दमक ९ मा रहेको श्रीयन्त्र कलेजको बारेमा । यो कलेजले प्राविधिक शिक्षा दिने सिलसिलामा ल्याव टेक्निसियन अन्तर्गत सीएमएलटी, इन्फरमेसन टेक्नोलोजी अन्तर्गत वीएससीएस आईटी र इन्फरमेशन म्यानेजमेण्ट अन्र्तगत वीआईएमको पठनपाठन गर्दै आएको छ ।
यो कलेजमा पढाई हुने यी विषय मध्ये कुनमा विद्यार्थीको बढी रुचि छ ? पढिसकेपछि विद्यार्थीले के पाइरहेका छन् ? हामीले कलेजमै पुगेर क्याम्पस प्रमुख श्याम बिष्टसँग केही सवाल जवाफ गरेका छौ ।
प्राविधिक शिक्षाको विकसित रुपबाट २२ वटा छोटो अवधिका तालिम र एउटा तीन वर्षे डिप्लोको पढाई अघि बढाएको उल्लेख गर्नुभयो । आइटीको रुचि विद्यार्थीमा बढी रहेको जनाउँदै १५ वर्षको अवधिमा धेरै विद्यार्थीलाई रोजगार बनाएको उहाँको दावी छ ।
अव कुरा गरौ दमकमा चिकित्सा क्षेत्रको प्राविधिक जनशक्ति उत्पादन गर्ने निजी कलेजको । त्यो हो दमक ४ मा रहको मिस्ट कलेज । अर्थात मानसरोवर इन्सिटच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी । यहाँ खासगरी सीटीइभीटी अन्तर्गतका सामान्य चिकित्सा अर्थात एचए र डिप्लोमा इन फार्मेसी पढाई हुन्छ । र, यो वर्षदेखि चाँही यहाँ अन्य ६ वटा विषय थप पनि भएर आएका छन् । ती हुन डिप्लोमा इन आर्किटेक्चर, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र प्रविणताप्रमाणपत्र तहको आध्यात्मिक साइन्स ।
यी कार्यक्रम मध्ये कुन विषयमा विद्यार्थीको आकर्षण छ ? भन्नेबारेमा हामीले यस क्याम्पसका प्रमुख प्रणव भण्डारीलाई उहाँको कार्यकक्षमै गएर प्रश्न गरेका छौं । ६ वटा नयाँ प्राविधिक विषय थप गरिएको प्रसंग अघि सार्दै विद्यार्थीको कोटा नपुग्ने समस्या नभएको जनाउनुभयो । गुणस्तरलाई विशेष ध्यान दिएर जनशक्ति र पाठ्यसामग्रीका आधारमा आफुहरुलाई समस्या नभएको उल्लेख गर्नुभयो । तर जनशक्ति यहीँ रोजगार हुने अवस्था नभएको प्रसंग अघि सार्दै भन्नुभयो ‘नेपालमा त प्राविधिक उत्पादन गरेर ५,७ वर्षदेखि त धेरैजसो विद्यार्थी विदेश नै जान्छन् । देशको अवस्थाले नै यो सिर्जना गराएको हो ।’
अव कुरा गरौ, दमक १ मा रहेको अर्को प्राविधिक शिक्षालयको । जनआन्दोलनमा वेपत्ता भएका दाजुभाईहरुको नामबाट स्थापित पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान बहु प्राविधिक शिक्षालयले खास गरी इन्जिनियर उत्पादन गर्दै आएको छ । छोटो र लामो अवधिका डिप्लोमा तहसम्मको पठनपाठन कार्यक्रम सञ्चालन हुने यो कलेजले पनि आफ्नो सतप्रतिशत कोटा अनुसार विद्यार्थी पाउनै सकेको छैन । खासमा किन यस्तो भइरहेको छ ? हामीले प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेत शंकरलाई प्रश्न गरेका छौं । भएका शिक्षालयलाई सुधार गर्नुको साटो शिक्षालय थप्ने गरेका विद्यार्थी विभाजन भएर विद्यार्थीको संख्या कम भएको उहाँले जानकारी गराउनु भयो । ‘भर्ना दर बढ्दो छ, तर इन्जिनियरिङको ८० वटाको हाराहारीमा शिक्षालय थप्यो, ६ हजार बढी पठाउनका लागि थपेपछि विद्यार्थी बाँढिएर समस्या भयो । इन्जिनियरिङ र कृषिका कोटामा १० प्रतिशत पनि भर्ना हुन नसकेको अवस्था आइपर्यो ।’- उहाँले भन्नुभयो । ६ वर्षमा व्याचलर गर्ने व्यवस्था मिलाउने गरी नीति परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
अव फेरि कुरा गरांै अर्को स्वास्थ्य क्षेत्रकै प्राविधिक उत्पादन गर्ने सस्थाको ।
आम्दा नेपाल अन्तर्गत रहेको आम्दा स्वाथ्य बिज्ञान प्रतिष्ठानले स्वास्थ्य संस्थालाई आवश्यक पर्ने बिभिन्न प्राविधिक जनशक्ति उत्पादन गर्ने गर्छ । हरेक विषयमा विद्यार्थीको संख्याको कोटा तोकेरै यहाँ पढाई हुन्छ । यहाँ पीसीएल नर्सिङ, रेडियोग्राफि, फिजियोथेरापी, जेनरल मेडिसिन र सीएम एलटी विषयमा पढाई हुन्छ । तर यहाँ पीसीएल नर्सिङ बाहेक अन्य विषयमा विद्यार्थीको कोटा नभरिएको क्याम्पस प्रमुख प्रमिला देवानले बताउनु भयो । नर्सिङको संख्या अस्पतालमा बढी आवश्यक पर्ने भएकाले त्यसमा बढी चासो भएको हुनसक्ने बताउनु भयो । विदेश जानका लागि पनि नर्सिङ पढ्ने बढेको कारण उल्लेख गर्नुभयो । उहाँले प्राविधिक शिक्षालय बढेकाले पनि विद्यार्थी बाँढिदा संख्या घट्दो क्रममा रहेको विश्लेषण गर्नुभयो ।
दमकमै रहेको लाइनलाईन अस्पतालले पनि चिकित्सा क्षेत्रमा आवश्यक पर्ने प्राविधिकहरु उत्पादन गर्ने गर्छ । रेडियोग्राफि, ल्याव टेक्निसियन, स्टाफ नर्स र एचएका कार्यक्रम यहाँ सञ्चालनमा छन् । क्याम्पस प्रमुख वीना सुब्बाले यहाँबाट उत्पादन भएका विद्यार्थी देश र विदेशमा रोजगार बनेको उल्लेख गर्दै नर्सिङकै बढी आकर्षण भएको बताउनु भयो ।
उल्लेखित सबै प्राविधिक शिक्षालयमा पढाई हुने विषयहरु प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अर्थात सीटीइभीटी अन्तर्गतका हुन् । सबै कोर्षको डिजाईन सीटीइभीटीलेनै गर्छ । यी कार्यक्रम अध्यापन गराउन शैक्षिक सस्थाहरुलाई अनुमित र विषयको स्वीकृति पनि यसैले दिन्छ । यसको आंगिकका रुपमा दमकमा समेत दमक बहुप्राविधिक शिक्षालय सञ्चालनमा छ । यसले दमकमा सिभिल इन्जिनियरिङ सहित अन्य प्राविधिक विषयमा समेत अध्यापन गराउँछ । तर यहाँ पनि सिभिल इन्जिनियरिङमा बाहेक विद्यार्थीनै आउँदैनन ।
सीप सहितको शिक्षा र पढिसकेछि सत प्रतिशत रोजगार समेत पाइने भनिएका यस्ता प्राविधिक विषयमा यूवा पुस्ताको आकर्षण किन घटिरहेको छ ? दमक बहुप्राविधिक शिक्षालयमा प्रमुख ठाकुर भट्टराई भन्नुहुन्छ ‘नेपालको अवस्था, शिक्षामा राजनीतिकरण भएर धेरै शिक्षालय खोलिने अनि पढ्न पनि अप्ठेरो विषय भएकाले होला विद्यार्थी घट्दै गएका छन् ।’ एसएलसीको उत्तीणर् दर पनि कम र पढिसकेर रोजगारीको ग्यारेन्टी नहुने अवस्थाले पनि चासो घटेको उहाँको ठम्याइ छ । भन्नुहुन्छ ‘कोर्ष परिमार्जित पनि गर्नुपर्छ । देशलाई कुनखालको जनशक्ति छ, त्यो खाले शिक्षा र रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ ।’
खासमा प्राविधिक विषयमा विद्यार्थीको आकर्षण घट्दै जानुमा वैदेशिक रोजगार पनि एक प्रमुख कारण हुन सक्छ तर यो नै सबै थोक चाँही हैन । पढिसकेपछिको भविष्यको सुनिश्चितता नै मुख्य कारण देख्नु हुन्छ दमक नगरपालिकाको शिक्षा समितिका अध्यक्ष कुवेर भट्टराई । उहाँले सरकारले यसखाले कार्यक्रमको प्रभावकारिता र आवश्यकताका बारेमा पर्याप्त प्रचार गर्न नसक्नु र पढिसकेपछि रोजगारको वातावरण सिर्जना गराउन नसक्नु नै विद्यार्थीको आकर्षण घट्नुको कारण ठान्नु भएको छ ।
राजनीतिक दबाबका आधारमा जथाभाबी दिइएका सम्बन्धन, जनशक्ति अभाव र रोजगारी सुनिश्चित नहुँदा प्राविधिक शिक्षाप्रति आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा प्रति विद्यार्थी प्रतिवर्ष १ लाख १० हजार रुपैयाँ खर्चिँदै आएको छ भने विद्यार्थीको पहुँच बढाउन वर्सेनी ६ अर्ब रुपैयाँ लगानी गर्दै आएको छ । तर, प्राविधिक शिक्षाको गुणस्तर खस्किएको त छ नै, रोजगारीका अवसरसमेत नहुँदा विद्यार्थीको आकर्षण अन्य विषयतिर गएको देखिन्छ ।
https://www.facebook.com/share/v/4pY66pciNsM82Rhi/