ताप्लेजुङ, १४ भदौ / जिल्लाका विद्यालयमा हिउँचितुवा र रेडपाण्डा संरक्षण सम्बन्धी स्थानीय पाठ्यक्रम तय गरी पठाउन थालिएको छ ।
हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्कको सहयोगमा वातावरण र हिउँचितुवा संरक्षण शिक्षासम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । दुलर्भ वन्यजन्तु हिउँचितुवा र रेडपाण्डाको महत्व तथा संरक्षण गर्ने उद्देश्यले विद्यालयमा शिक्षण सुरु गरिएको संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जनाउनु भयो ।
जिल्लाका १३ विद्यालयमा कार्यक्रम लागू गरिएको छ । फुङ्लिङ नगरपालिकास्थित मयाम मावि फुरुम्बु, पाथीभरा याङवरक गाउँपालिकास्थित सिद्धिकुमारी आधारभूत विद्यालय सिरिङ्गे र फक्ताङ्लुङ गाउँपालिकास्थित सिँवा मावि तथा महेन्द्र आधारभूत विद्यालय लिङखिममा पाठ्यक्रम लागू गरिएको छ ।
यसैगरी, सिरिजङ्गा गाउँपालिकास्थित लक्ष्मी मावि मामाङ्खे, कञ्चनजङ्घा मावि याम्फुदिन र फक्ताङलुङस्थित सरस्वती च्यारिवुक मावि लेलेपमा पनि पाठ्यक्रम लागू गरिएको छ । जसबाट छ सय ५० विद्यार्थी लाभान्वित हुँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रम संयोजक राईका अनुसार, वातावरणीय शिक्षासम्बन्धी पाठ्यक्रम कक्षा ६ र ७ मा लागू गरिएको छ । यस पाठ्यक्रममा दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान, संरक्षणका उपाय र स्थानीय समुदायको भूमिकालाई केन्द्रित गरेर तयार गरिएको छ ।
रेडपाण्डा र हिउँचितुवा दुवै दुर्लभ वन्यजन्तु हुन्, जसको संरक्षण गर्न विश्वभरका वैज्ञानिक, संरक्षणकर्मी र स्थानीय समुदाय निरन्तर प्रयासरत छन् । जैविक विविधताले भरिपूणर् क्षेत्रमा यस्ता वन्यजन्तुको संरक्षण अत्यन्त महत्वपूणर् हुने ठहर गर्दै यसखाले शिक्षा दिन थालिएको राईले उल्लेख गर्नुभयो ।