दमक, २५ भदौ । लोकतन्त्रको आवाज उठाउँदा भुटानबाट लखेटिएको ११ वर्षपछि त्यही आवाज बुलन्द गरिरहनु भएका भुटानी नेता आरके बुढाथोकीको हत्या भयो । सन् २००१ सेप्टेम्बर ९ का दिन झापाको दमकमा भएको सो घटना सदा आलो घाउका रुपमा २३ वर्ष वितिसकेको छ । तर उहाँको स्वदेश फर्किने सपनाले मूर्त रुप लिने अहिलेसम्म कुनै छेकछन्द देखिदैन ।
सन् १९९० मा निर्वासनमा पहिलो राजनीतिक दलका रुपमा स्थापित भूटान पिपुल्स पार्टीको संस्थापक अध्यक्ष भएर आरके बुढाथोकीले भूटानी जनआन्दोलनको नेतृत्व गर्नु भयो । भुटानी नागरिकलाई निरङ्कुशताको पञ्जाबाट मुक्ति दिलाउन उहाँले जनआन्दोलनको कुसल नेतृत्व प्रदान गरेको विषय भूटानी इतिहासले स्थापित गरिसकेको छ ।
उहाँलाई भूटानी जनआन्दोलन एकीकृत गर्ने अभियानमा क्रियाशील रहेकै बखत् षड्यन्त्रपूर्वक मारियो । सन् २००१ सेप्टेम्बर ९ तारेखका दिन दिउँसो ३ ः १५ मा दमक चोकउत्तर बेलडाँगी रोडमा अवस्थित भुटान पिपुल्स पार्टी ( बीपीपी) को कार्यालयमा सो पार्टीको युवा संगठनको बैठकमा सहभागि भएको बेला युवाको समूहले बुढाथोकीमाथि खुकुरीले घाँटीमा प्रहार गरेको थियो । सख्त घाइते भएर स्थानीय आम्दा अस्पताल पुर्याइएका उहाँको त्यसैबेला निधन भयो । शिविरमा कर्फयू नै लाग्यो । सो घटनाको भुटान रिभोलुसनरी फ्रि स्टुडेण्ट फोर्स नामक संगठनले जिम्मा लियो । घटनास्थलबाट तीन जना युवा पक्राउ परे । अन्य ६ जनालाई केही दिनपछि पक्राउ गरी प्रहरीले मुद्धा चलायो । उनीहरु जेल सजाय भोगेर मुक्त भए ।
वास्तवमा, उहाँको हत्या कुनै साधारण उद्देश्यले मात्र भएको मान्न सकिन्न । युरोपेली मुलुकको दोस्रो भ्रमणपछि उहाँले काठमाडौँस्थित च्यानल नेपालमा आजको सन्दर्भ कार्यक्रममा सञ्जय घिमिरेलाई दिएकोे ओजपूर्ण अन्तर्वार्ताले भूटानी निरङ्कुश सरकारको सत्ता डगमगाएको प्रतीत हुन्थ्यो । प्रजातन्त्र प्राप्त गर्ने भूटानी जनताको अठोटलाई निस्तेज पार्नकै लागि अपराधिक समूह भिडाइ नियोजित रूपमा उहाँमाथि सांघातिक हमला भएको भुटानी नेताहरुले ठहर गरेका छन् । तर आजसम्म पनि त्यसखाले षडयन्त्र चिरेर देशमा प्रजातन्त्रको पुनवर्हाली गर्ने सपना पुरा भएन, त्यो सपना बुढाथोकीसँगै गयो ।
नेपाल र भुटानबीच १५ औं चरणका वार्ता अनि भुटानी प्रमाणिकरणको कार्य पनि त्यति नै बेला के निहुँ पाउँ कनिका बुक्याऔं भनें झैं भयो । १५ औं वर्ष अघिका ती गतिविधिको प्रयास त्यसयता सेलाएर मात्र गएर मृतप्राय हुनपुग्यो । वार्ता र प्रमाणीकरणको बाटोबाट पनि समस्या समाधानउन्मुख हुन नसकी ती दुई उपाय त्यसै स्थगितहुँदा मेची पुलबाट भुटान छिर्ने अन्तिम प्रयत्न भयो । स्न २००७ को भुटान छिर्ने आन्दोलनको प्रयत्न भारतीय सुरक्षाकर्मीले निस्तेज मात्र पारेनन् त्यहाँ त दुई जना भुटानीको गोली लागेर ज्यानै गयो । समस्याको अन्तराष्ट्रियकरण गर्ने जोडबलले पनि कुटनीतिक रुपमा दर्बिलो बाटो समात्न नसक्दा समस्या ज्यूँका त्यूँ रह्यो । स्वदेश फर्किने व्यग्र प्रतिक्षामा बसेको अवस्थामा नेपालका शिविरमा शरणमा बसिरहेका भुटानी नागरिकलाई स्वदेशफिर्तीको विकल्पलाई छोडेर युएनएचसीआरले आइओएममार्फत एक्कासी तेस्रो मुलुक पुनस्र्थापनाको कार्यक्रम अघोषित दवाव स्वरुप अघि बढायो । त्यसबाट सन् २००७ देखि १० वर्षको अवधिसम्म अमेरिका, युरोपसहितका ८ राष्ट्रमा १ लाख १५ हजारको संख्यामा भुटानीहरुलाई पुनस्र्थापित गरियो । त्यसयता परिवार विखण्डनको अवस्था भयो, झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा गरी ८ हजारको संख्या अझै देश फर्किने आशामा बसिररहेको छ । तथापि आरके बुढाथोकीले अघि सारेको आन्दोलनको जागृत रुप भनें अहिले सेलाएको अवस्थामा छ ।
यद्यपी आरके एक सैद्धान्तिक लक्षकासाथ मैदानमा उत्रनु भएका जीवन दर्शन, त्याग र बलिदानको भावनाले ओतप्रोत नेता भएकाले उहाँको क्षतिले आन्दोलननै असक्त बनेको ठहर छ वीपीपीका वर्तमान अध्यक्ष बलराम पौडेलको । पौडेलका अनुसार, उहाँमा एक निष्ठा, इमान्दारिता र गरिबहरू प्रतिको पीडा थियो । उहाँमा कुनै प्रलोभन थिएन, कुनै वैयत्तिक स्वार्थ थिएन, केवल एउटै सामूहिक लक्ष्य र आत्मसम्मानको सगौरव अनुभूति थियो । उहाँमा कुनै कपट र कायरता थिएन, बेथितिको उन्मूलन गरेरै छाड्ने संकल्पसहितको पवित्र र प्रजातन्त्र प्राप्तिप्रतिको दृढ इच्छाशक्ति थियो । देशलाई अत्याचारको चंगुलबाट मुक्त गरी भूटानी जनताको चाहना र आवश्यकताहरू पूरा गर्ने उहाँकोे सपना थियो । पौडेल भन्नुहुन्छ ‘बुढाथोकीको क्षमता र लक्ष्यबारे विश्व जगतलाई राम्ररी अवगत हुनअघि नै उहाँको हत्या हुनुले भूटानको प्रजातान्त्रिक आन्दोलनलाई एक अपूरणीय क्षति पुगेको छ । उहाँ अलिक लामो समय बाँचेको भए भूटानको राजनीतिक समस्या धेरै अघि नै समाधान भइसकेको हुन्थ्यो । तर पनि भुटानभित्रैबाट आन्दोलन र परिवर्तनको आशामा छौं । त्यो एकदिन अवस्य हुनेछ ।’
तर त्यसखाले नेताको निधनपछि कुनैखाले स्मरणका कार्यक्रम नहुनु अनि उहाँको योगदानका बारेमा चर्चा नहुनुलाई बिडम्बना मान्नुहुन्छ भुटानी पत्रकार अर्जुन प्रधान । जुनै तबरले पनि स्वदेश फर्किने सपना संगाल्दै मेची पुलको आन्दोलनका क्रममा पुलमाथिबाट खोलामा झारिएर जीवनभर ढाड र खुट्टामा समस्या खेप्दै आएको घटनाले उहाँलाई दुखाइरहन्छ । भुटानी आन्दोलनलाई निष्कर्षमा पुर्याउने प्रतिवद्ध व्यक्ति गुमाएकोमा उहाँलाई ज्यादै दुःख लागिरहेको छ । प्रधानले आरकेलाई कुन रुपमा सम्झिनु हुन्छ भनेर सामाजिक सञ्जालमार्फत आज उहाँलाई स्मरण गराउँदै उहाँको योगदान भुल्न नहुने कुरा राख्नुभयो ।
त्यसक्रममा हरि पौडेलको प्रतिक्रिया यस्तो छ ‘विपत्तिको सामना गर्दै दृढतापूर्वक उभिने साहसी नेताको रूपमा आरके बुढाथोकीको विरासतले आगामी पुस्तालाई प्रेरणा दिनेछ । उहाँ अब हामी माझ नहुँदा पनि उहाँको आदर्श, साहस र भुटानका जनताप्रतिको समर्पण, न्याय र स्वतन्त्रता र भुटानी सङ्घर्षका लागि पथप्रदर्शक ज्योति बनेर रहनेछ ।’
हेम गुरागाईं लेख्नुहुन्छ ः ‘उनले द्विपक्षीय वार्ताले कुनै नतिजा नआउने बताए । निर्वासित भुटानीहरू र देशभित्र रहेकाहरूलाई मिलाएर बलियो प्रतिद्वन्द्वी बल बनाउनु आवश्यक थियो । यस्तो प्रतिद्वन्द्वी शक्तिले मात्रै राजालाई टेबुलमा ल्याउन सक्छ भन्ने संश्लेषण गरेका थिए । त्यो उनको अन्तिम अन्तर्वार्ता थियो । सायद, उसलाई एउटै विचारको लागि मारिएको थियो, मलाई लाग्छ ।’
विश्व शरणार्थी दिवसको दिन औपचारिकताका लागि स्वदेश फर्किेने आशा व्यक्त गरिएका विज्ञप्ति प्रकाशन बाहेक स्वदेशफिर्तीका कार्यक्रम र गतिविधि प्रायः सून्य अवस्थामा पुगेको छ ।
प्रजातन्त्रको आवाज उठाउँदा देशबाट निकाला भएर भारतहुँदै भुटानीहरु आफ्नो पुख्र्यौंली थलो नेपाल आइपुगे । अनि लामो समय नेपालमा शरणार्थी जीवन विताएपछि भुटान जान पाउनुको सट्टा सदाका लागि तेस्रो मुलुकमा पुनर्वास गराइए । यसरी आफ्नो अस्तित्व नै मेटाउनु पर्ने विडम्बना कहिलेसम्म जारी रहन्छ होला ? अनि कहिलेसम्म उनीहरुले मनको कुनामा मात्र आफ्नो देश बचाइरहन सक्लान् ?









