दमक, मंसिर ३
उहाँको प्रतिभा अजीव लाग्छ । साहित्यमा शक्तिशालीपन त छ नै, त्यो भन्दा बढी कलाकारिताको सम्भावना देखिन्छ । तथापि उहाँले अहिले साहित्यमै मात्र आफूलाई केन्द्रित बनाउँदै लगेकोे पाइन्छ ।
२०३४ साल मंसिर १५ गते बुबा स्व.भीमप्रसाद र आमा टंकमायाको कान्छो सन्तानका रुपमा जन्मिनु भएका उहाँ अर्थात शंकर चापागाईं सृजना क्षेत्रमा धनकुटे कान्छाको नामले परिचित हुनुहुन्छ । १० वर्षको उमेरदेखि नै कविता लेख्न थाल्नु भएका दमक ९ निवासी उहाँ कविताका साथै गजल, रुबाई, हाइकु, निवन्ध, लेख जस्ता विधामा प्रभावकारी प्रस्तुति दिन माहिर हुनुहुन्छ । पूर्वाञ्चलमा गजलको अभियानका महत्वपूणर् अभियन्ता रुपमा पनि उहाँको देन छ ।
उहाँको अलि फरकखाले सृजनशील विशेषता चाँही उहाँ दर्जनौं चराका आवाज दुरुस्तै नक्कल गर्नसक्नुहुन्छ । चराको आवाज नक्कल गर्ने भनेर सम्भवतः उहाँ सञ्चारमाध्यममा नेपालमै पहिलो चोटी सार्वजनिक भएका व्यक्तिमा पर्नुहुन्छ । चराको आवाज निकाल्ने कारणले उहाँ पूर्वमा फरक पहिचान बनाउँदै आउनु भयो अनि विभिन्न समुदाय र व्यक्तिका स्वर समेत नक्कल अर्थात क्यारिकेचर गरेर पनि स्टेज तताउँदै आउनु भयो । तर अहिले उहाँले कविता वाहेकका सृजना छोड्दै जानु भएको छ ।
नाटकमा अभिनय गर्दै आउँदा चलचित्र ‘देश खोज्दै जाँदा’मा पनि शसक्त भूमिका निर्वाह गर्नुभयो । तर अभिनय क्षेत्रबाट पनि उहाँ लगभग टाढिनु भएको छ । जीवन र घर व्यवहार चलाउने हिसावले पनि सो क्षेत्रलाई निरन्तरता दिन समस्या भएको ठहर छ उहाँको । पछिल्ला डेढ दशक यता उहाँले केही विद्यालयहरुमा सृजनशील विषयको शिक्षकका रुपमा काम गर्दै सृजनाकै फूलबारीमा आफूलाई डुलाउँदै आउनु भएको छ ।
नेपाली वाङ्मय प्रतिष्ठान झापाका अध्यक्ष, दमक प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य, कृष्णभूषण बल स्मृति प्रतिष्ठान आजीवन सदस्य, त्रिफला राष्ट्रिय पुस्तकालय आजीवन सदस्य, जीवन स्मृति प्रतिष्ठान कार्यसमिति सदस्य, साहित्य कला संगम आजीवन सदस्य, बोन्साइ साहित्य प्रतिष्ठान आजीवन सदस्य रहेर सृजनाको संस्थागत गतिविधिमा उहाँ संलग्न हुनुहुन्छ ।
उहाँका हालसम्म प्रकाशित कृतिहरुमा ः लाशमाथि एउटा बच्चा (गलल संग्रह २०५९ ) , अक्षरहरु आमा र देश (कविता संग्रह २०६१), डायस्पोरिक नोस्टाल्जीया (गजल संग्रह २०६८ गजल ) र इतिहास निफनेर (कविता संग्रह २०७२) रहेका छन् ।
युवा वर्ष मोती पुरस्कार, स्वणर् पदक ( राष्ट्रिय युवा सेवा कोष २०७६ ) कोशी प्रदेश सरकारबाट नगद ५० हजार सहित उत्कृष्ट प्रतिभा सम्मान, जेसीज राष्ट्रिय युवा प्रतिभा पुरस्कार स्वणर् पदक (२०१६), विमल स्मृति पुस्तकालय धरानबाट २०५८ सालमा राष्ट्रिय युवा कविता महोत्सवमा स्वणर् पदक प्राप्त गरेर आफ्नो योगदानको उचाई राष्ट्रियस्तरमा पुर्याउन सफल हुनु भएको छ ।
उत्कृष्ट युवा प्रतिभा पुरस्कार ( साहित्य चौतारी झापा २०५८), झापा जिल्ला स्तरीय नाटक महोत्सव ( लेखन तथा अभिनय तर्फ उत्कृष्ट २०५८ र २०५९ ), सुवास स्मृति वाणी साहित्य पुरस्कार ( वाणी प्रकाशन विराटनगर २०७१), जानकी बल्लभ चन्द्रप्रभा साहित्य पुरस्कार (जानकी बल्लभचन्द्र प्रभा साहित्य कोष २०७२), राष्ट्रिय युवा प्रतिभा सम्मान (प्रतिभा सम्मान कोष झापा २०७४), सीएम कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा सम्मान पथरी शनिश्चरे मोरङ (२०७५) सहितका सम्मान पुरस्कार प्राप्त गरेर सृजनशील क्षेत्रमा उर्जाशील बन्दै आउनु भएको छ ।
कवितासँगै समालोचनामा पनि प्रभावकारी कलम चलाउनु हुने उहाँले दर्जनौं कृतिहरु सम्पादन समेत गर्नुभएको छ । दमक प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको दमक ज्योति र दमक बाल ज्योति, नौलो आभास मासिक (२०५४ देखि २०५८) नेपाली समसामयिक गजल विशेषाङ्क (२०५६), झिल्लिका द्वैमासिक (२०५८), बोन्साइ हाइकु विशेषाङ्क (२०५८), दमकका प्रतिनिधि कवि र कविता (२०५८) सम्पादन गर्न भ्याउनु भयो । समरुप साप्ताहिक (२०७०), संगम हाइकु विशेषाङ्क (२०७०), खोजमूलक ग्रन्थ दमक दर्पण (२०७४ ), जीवन स्मृति ग्रन्थ (२०७६), सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराई ( जीवनी परक कृति २०७८) भवानी दाहाल ( जीवनी ) को समेत सम्पादन गरेर सम्पादन क्षेत्रमा पनि आफूलाई स्थापित गर्नुभएको छ ।
उहाँसँग गरिएको भलाकुसारी र उहाँका सृजना प्रस्तुति उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा ः









