दमक, पुस २२
भारतको छत्तीसगढ राज्यमा सडक निर्माणमा भएको भ्रष्टाचारको रिपोर्टिङ गरेका एक भारतीय पत्रकारको हत्या भएको छ । ३२ वर्षीय मुकेश चन्द्राकार जनवरी १ बाट बेपत्ता भएको अवस्थामा परिवारले उजुरी गरेपछि प्रहरीको खानतलासीमा विजापुर शहर क्षेत्रको सडक निर्माण ठेकेदारको कम्पाउण्डको सेफ्टी ट्याँकीमा चन्द्राकारको शव फेला परेको छ ।
प्रहरी अधिकारीहरूले चन्द्राकारको मोबाइल फोन ट्र्याक गरेपछि सो घटनाको आरोपमा चन्द्राकारका दुई आफन्तसहित तीन जनालाई पक्राउ गरिएको बताएका छन् ।
पत्रकार चन्द्राकारको शरीरमा गहिरो चोट लागेको पाइएको प्रहरीले जनाएको छ । चन्द्राकारले सार्वजनिक निर्माण परियोजनाहरूमा कथित भ्रष्टाचारको बारेमा व्यापक रूपमा रिपोर्ट गर्र्दै लोकप्रिय युट्युब च्यानल बस्तर जंक्शन पनि चलाउँदै आउनु भएको थियो ।
चन्द्राकारको मृत्युपछि, प्रेस काउन्सिल अफ इन्डियाले राज्य सरकारसँग घटनाको बारेमा विस्तृत जानकारी माग्दै दोषी उपर कडा कारबाहीको माग गरेको छ । स्थानीय पत्रकारहरूले हत्याको विरोधमा प्रदर्शन गरेका छन् ।









