दमक, पुस २३
मंगलबार बिहान गएको भूकम्पबाट चीनमा हालसम्म मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।
चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पमा ५३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको चीनको सरकारी अनलाइन सीजीटीएनले जनाएको छ । भूकम्पमा परेर तिब्बतमा अहिलेसम्म ३८ जना घाइते फेला परेको समेत उल्लेख छ ।
चीनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केल मापन गरेको छ । भूकम्पबाट भएको भौतिक क्षतिका विषयमा अहिलेसम्म विस्तृत विवरण नआइसकेको चीनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले भूकम्पपछि तीन तहको आपतकालीन उद्धार प्रक्रिया सक्रिय गराइएको जनाएको छ । उद्धार र राहत कार्यका लागि बेइजिङबाट कार्यदल पठाइएकोे छ ।









