दमक, पुस २३
चीनको तिब्बत स्वशासित क्षेत्रमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
सिगात्से सहरनजिकैको टिङ्ग्री काउन्टी एपिसेन्टर रहेको ६.९ म्याग्निच्युडको भूकम्पले वरिपरिका गाउँहरूमा ठूलो क्षति गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उसले भूकम्पबाट ९५ जनाले ज्यान गुमाएको र कम्तीमा १३० जना घाइते भएको उल्लेख गरेको छ ।
राष्ट्रपति सी चिनफिङले पनि उद्धारमा खट्न निर्देशन दिएपछि तिब्बतका सरकारी अधिकारीहरूले तीन सयभन्दा ज्यादा उद्धारकर्ता परिचालन गरेका छन् ।
भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।









