दमक, पुस २४
नवनियुक्त नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फेले गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
सियोलमा मंगलबार आयोजित एक समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेस गर्दै कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेको सिओलस्थित नेपाली राजदूतावासले बुधबार जनाएको छ ।
कार्यवाहक राष्ट्रपति चोइले राजदूत तुम्बाहाम्फेलाई गणतन्त्र कोरियाका लागि नेपालको राजदूतका रूपमा स्वागत गर्दै नेपाल–कोरिया सम्बन्ध प्रवद्र्धनमा सक्दो सहयोग गर्ने बताउनु भएको थियो । साथै उहाँले राजदूत तुम्बाहाम्फेको सफल कार्यकालको कामना पनि गर्नुभयो ।
त्यस अवसरमा राजदूत तुम्बाहाम्फेले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदान महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा दुई देशबिचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक लाखभन्दा बढी नेपाली कामदारले दुई देशबीच जनस्तरको सम्बन्धलाई प्रवद्र्धनका साथै कोरियाको अर्थतन्त्रमा योगदान गरेको जनाउनु भयो ।
उहाँले कार्यवाहक राष्ट्रपतिमार्फत नेपाल सरकार र आफ्नो तर्फबाट २९ डिसेम्बरमा गणतन्त्र कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।
त्यस अवसरमा नेपाली दूतावासका उपप्रमुख पुष्पराज भट्टराई तथा गणतन्त्र कोरियाका विदेशमन्त्री चो ताई युल, शिष्टाचार प्रमुख र विदेश मन्त्रालयका अन्य उच्च अधिकारीको उपस्थिति थियो ।









