एजेन्सी, माघ २
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई राज्य विद्रोहको आरोप लगाउँदै बुधबार बिहान पक्राउ गरिएको छ । राष्ट्रपति योललाई सउलस्थित निवासबाटै पक्राउ गरिएको सञ्चार संस्था बीबीसीले जनाएको छ ।
अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले योललाई पक्राउ गरेका हुन् । यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा योललाई पक्रिने प्रयास गरेका थिए ।
गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै राष्ट्रपति योललाई विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ । पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो ।
योललाई पदबाट हटाउन वा नहटाउने विषयमा महाभियोगको परीक्षणले तय हुने बताउँदै कानुन व्यवसायीहरूले यसरी धरपकड गरी पक्राउ गर्नू जनतामाथि विश्वासघात भएको उल्लेख गरेका छन् ।









