दमक, माघ ७
युद्धविराम सम्झौता लागू भएको पहिलो दिन नै तीन जना इजरायली महिलालाई रिहा गरिएको जनाइएको छ । उनीहरु रिहा हुँदा कारुणिक दृष्य देख्न सकिन्थ्यो ।
सन् २०२३ को अक्टोबरमा हमासको नेतृत्वमा इजरायलमा भएको आक्रमणपछि बन्धक बनाइएका ३३ जनालाई इजरायलमा रहेका सयौं प्यालेस्टिनी कैदी र बन्दीको बदलामा युद्धविरामको पहिलो छ हप्तामा रिहा गरिने अपेक्षा गरिएको छ ।
इजरायलका अनुसार ९१ जना बन्धक अझै बेपत्ता छन्, तर ५७ जना मात्र जीवित रहेको अनुमान गरिएको छ । समाचार संस्था बीबीसी लेखिएको समाचार अनुसार यसबाहेक, हमासले युद्ध अघि इजरायलबाट गाजा प्रवेश गरेका दुई जनालाई अझै पनि हिरासतमा राखेको छ । अहिलेसम्म हमासले गाजामा ३ बन्धक रिहा गरेको छ भने इजरायलले ९० प्यालेस्टिनी कैदीलाई मुक्त गरेको छ ।
हमासले रिहा गरिएका ९० जनामा ६९ महिला र २१ बालबालिका रहेको बताएको छ । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार नौसय प्यालेस्टिनी कैदी रिहा गर्नुपर्नेछ । बदलामा हमासले ३३ इजरायली बन्धक छाड्नुपर्ने छ ।









