एजेन्सी, माघ ८
डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथलिएसँगै जो बाइडेन प्रशासनका ७८ निर्णय खारेज गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएको केही घण्टामै ट्रम्पले धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै यसअघिको बाइडेनको कार्यकालका ७८ निर्णय खारेज गर्नुभएको छ । यस क्रममा विदेश नीतिको बारेमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई सुरक्षित राख्नु पहिलो प्राथमिकता हुने बताउनु भयो । साथै उहाँले अमेरिकामा अवैधानिक रुपमा बसोबास गरिरहेकाहरुलाई उनीहरुको देशमा फिर्ता पठाइने प्रक्रिया सुरु गरिने समेत उहाँले उल्लेख गर्नुभयो ।
उहाँले अमेरिकाले पेरिस जलवायु सम्झौताबाट बाहिरिने घोषणा गर्दै सेना र केही अन्य आवश्यक क्षेत्रहरू बाहेक सबै सङ्घीय भर्नाहरू पनि रोक्ने निर्णय गर्नुभएको छ । ट्रम्पले अमेरिका–मेक्सिको सीमामा अवैध आप्रवासनलाई राष्ट्रिय आपतकाल घोषणा गर्नुभयो ।
अमेरिकामा विदेशी गिरोह सदस्यहरूलाई लक्षित गर्न १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने योजना पनि घोषणा गर्नुभएको छ । यो कानुनी अधिकार अन्तिम पटक दोस्रो विश्वयुद्धको समयमा जापानी, जर्मन र इटालियन मूलका गैर–नागरिकहरूलाई नजरबन्द शिविरहरूमा थुन्न प्रयोग गरिएको थियो । राष्ट्रपति बन्ने बित्तिकै, ट्रम्पले जनवरी ६ को हिंसाको लागि दोषी ठहराइएका आफ्ना समर्थकहरूलाई माफी दिएको घोषणा गर्नुभयो ।









