दमक, माघ १४
दक्षिणी इलाममा रहेर रंगमञ्च गतिविधिमा सक्रिय चुलाचुली रंगमञ्चले विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिमा सोमबार (आज) बाट दुईदिने ‘तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु हुने भएको छ ।
भूमि, कला र पर्यावरणको सम्मिश्रणमा ‘विश्वव्यापारीकरमा ग्रामीण सौन्दर्यको खोजी’ को नारासहित चुलाचुली–३ स्थित शिव ओरक मिलन पोखरी पर्यटन क्षेत्रमा नाट्य महोत्सव हुनेछ । माटोकै प्रपर्टी र माटोकै कलात्मक एवम् प्राकृतिक खुला मञ्च खडा भएको छ । योखाले नाट्यशालास्थल नेपालमै नौलो हो । दर्शक बस्ने बाँसको प्याराफिट शैलीको स्थल छ । महोत्सवमा फाइन आर्ट कार्यशाला, फोटो प्रदर्शनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाँकी प्रदर्शनी र रङ्गमञ्च अन्तरसंवाद गरिनेछ ।
महोत्सवमा नेपालका सात वटा विद्यालयको प्रस्तुति छनोटमा परेको छ । नाट्य महोत्सवको पहिलो दिन आयोजक चालचुली रङ्गमञ्चले ‘भुमरी’, मोरङको सुन्दरहरैंचास्थित सुविजिमुर मेरमोरियल माविले ‘उ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणी लुगा’ मञ्चन गर्नेछ । त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपाली रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवाद हुने संस्थाका निर्देशक चेतन आङथुपो ‘डर’ ले जनाउनु भयो । ‘शिक्षामा सृजनशीलता’ नामक अन्तरसंवादमा लोकनाथ पौडेल, रुद्र प्रभात र रीता पोखरेलले विचार राख्नुहुनेछ ।
मंगलबार चुलाचुली गाउँपालिकास्थित अमृत बोर्डिङ स्कूलले ‘द ल्याण्ड अफ मङ्की’, बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले ‘मौनताको कथा’ मञ्चन हुनेछ । सोही दिन कुलुङ भाषा संस्कृति उत्थान संघ चुलाचुलीको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवादसँगै महोत्सवको समापन गरिने छ ।
शैक्षिक संस्थालाई रङ्गमञ्च कसरी बुझाउन सकिन्छ भन्ने अभ्याससँगै नाटक मात्रैभन्दा पनि पर्यावरणबारे पनि बुझाउने प्रयास रहेको आङथुपोले बताउनु भयो, ‘हामीले भूमि, कला र पर्यावरण कलाको सम्मिश्रणमा खुला ठाउँमा नाट्य उत्सव गर्दैछौँ ।’ उहाँले भन्नु भयो । त्यहाँ निर्मित खुला रंगमञ्चमा बिहान १० देखि अपरा्हन ४ बजेसम्म नाटकहरु प्रदर्शन गरिने आङ्थुपोले बताउनु भयो । कार्यक्रममा कार्यशाला पनि आयोजना हुनेछ ।
यसखाले पहिलो महोत्सवमा ६ वटा र दोस्रो महोत्सवमा १० वटा नाटक मञ्चन गरिएको थियो ।
२०६९ मा स्थापित चुलाचुली रंगमञ्चले नाटक महोत्सव, नाट्य कार्यशाला जस्ता गतिविधि गर्दै आएको छ । खासगरी विद्यार्थीलाई लक्षित गरी संस्थाले नाट्य कार्यशाला र महोत्सवहरू आयोजना गर्दै आएको छ । विद्यार्थीलाई किताबी ज्ञानका साथै सृजनात्मक गतिविधिमार्फत प्रतिभा बाहिर ल्याउने र असल नागरिक बनाउन यसखाले कार्यक्रम मद्धत पुग्ने आयोजकको अपेक्षा छ ।









