दमक, माघ १८
काफलगेडी कुटुक्कै बोलको गीतबाट लोकप्रिय मोरङको पथरी शनिश्चरेका लोक गायक महेश बुढाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो म्यूजिक नेपालमार्फत सार्वजनिक भएको छ ।
पथरी शनिश्चरेका नवोदित पत्रकार तथा कलाकार इश्वर दुलालको पहिलो निर्देशनमा पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको सो गीतलाई शुक्रबार साँझ युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हाल अमेरिकामा बस्दै आउनु भएका बुढाथोकीका ‘काफगेडी कुटुक्कै.’, ‘होस गर है सोल्टिनी.’, ‘हलो अड्काउँदै.’ जस्ता गीतहरू चर्चित छन् । गीत गायनमा बबिना भट्टराईले साथ दिनुभएको छ । शब्द, भाका संकलन स्वयं बुढाथोकीले गर्नुभएको छ भने एरेन्ज अशोक राईको हो ।
पूर्वी नेपालको रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियोमा बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मञ्जु मगर, कुमारी मगर, तारा मगर आदिको अभिनय देख्न पाइन्छ ।
म्युजिक भिडियोलाई सुमन तामाङले छायांकन, अशोक मण्डलले श्रृङ्गार, हेमन्त तामाङले सम्पादन, पूजा तामाङको नृत्य कोरियोग्राफी रहेको छ । विगत १० वर्षदेखि अमेरिका बस्दै आउनु भएका गायक बुढाथोकीले नेपाल आएपिच्छे कम्तिमा एउटा गीत निर्माण गरेर फर्किने गर्दै आउनु भएको छ ।