छानी छानी सोधी सोधी ताने
त्यहाँसम्म सित्तैमा पुर्याइदिने
सम्भावना र मौकाका पासामा
देश देश जोड्ने ताम्रपत्रमा
महा ल्याप्चे धसेपछि
म निथ्रिएँ मबाट र पोखिएँ देशबाट ।
काटी खाने पशु प्रेम जस्तो नरेश भावना
ग्वाम्मै भड्खालोमा लगेर ढुनमुन्याउने सम्भावना
झिँगोको टाउको जत्रै खुसीमा
सप्तऋषीको दिमाग साँघुरो पारेर पित्केमा
रमाउँदै रमाउँदै टाँसिए चिनीमा
गुलेलीमा मेरो टाउको मर्याक्क अँठ्याएर
सात डाँडापारिको निसानामा एक बाँह तन्काएर फिता
नरेशले छाडेपछि मैले चिनें डाँडावारि टाउको खसेको ठाउँ
अलिकतिले मर्न नसकेको जीवन बाँच्ने पो त बाँच्ने भन्छन्
जिन्दगीभरि मर्न नसकेको मृत्यु बाँचिस् पनि भने
म सम्झे जति मर्न चाहन्थें तर चाहे जति बचाए
भित्र अलिकति धुकधुकी रहेको मट्याङ्ग्रो
निधारमा अर्कै पहिचान छ अर्कै अस्तित्व भने देखेर
नेपाली छ नाम थर अनेपाली बिक्रीमा राखे लेखेर
म निथ्रिएँ मबाट र पोखिएँ परिवेशबाट, के गरूँ ?
न जाने ठाउँ थियो आफ्नो न कोही आफ्नो थियो आफ्नो
छैन भन्नु केही छैन विडम्बना मात्र म स्वयम् म छैन
छ भनेको पनि मेरो आफ्नै चाहिँ म पनि होइन
सुनका भाउमा बेचिएको महँगो पित्ले थिगार
अझै कति पल्ट बनाइने छु सरकारी सिगार
म मारिँदै जन्माइन्छु र जन्माउँदै मारिन्छु
थाहा पाउनु भो ? पछिल्लो पल्ट नेपाल सरकारले
म भनेर उसका नागरिक बेच्यो प्रकार प्रकारले ।
हाल : ओहायो अमेरिका