वाद्यवादनमा आकर्षित बन्दै छन् संगीतप्रेमी वडाबासीहरु

दमक, माघ २३
वडाबासीलाई सृजनशील बनाउने काममा झापास्थित दमक नगरपालिकाको ६ नम्बर वडा कार्यालयले कार्यक्रमहरु अघि सार्दै आएको छ । यसक्रममा यो बेला आयोजना भएको वाद्य वादन सम्बन्धिको १ महिने तालिम समेत एउटा उदाहरण हो ।

 

महिलाकालागि समेत जागरण ल्याउन आयोजना गरिएको १ महिने हार्मोनियम र मादल वादन तालिमले सहभागितलाई गीतसंगीतप्रति प्रोत्साहित गरेको छ ।
भजन किर्तन टोलीमा रहेपनि वाद्यवादनको ज्ञान कम भएकाले तालिम लिएको बताउँदै प्रशिक्षार्थी अम्बिका आचार्यले धर्म संस्कृति जोगाउन समेत यसखाले तालिमले मद्धत पुगेको बताउनु हुन्छ । लक्ष्मीप्रसाद दाहालले मादल वादनको तालिम लिनु भयो । उहाँले यसखाले तालिमबाट हार्मोनियन, मादल जस्ता मौलिक बाजाको संरक्षणमा समेत ठूलो मद्धत पुर्याउने विचार राख्नुहुन्छ ।

 

सुरसुधा संगीत विद्यालयकी सञ्चालक चन्द्रा गड्तौलाले वाद्यवादन तालिमको सहजीकरण गर्दै प्रशिक्षार्थीहरु उत्साहित भएर सिकेको जनाउनु भयो ।
वडामार्फत सञ्चालनमा ल्याइएको एक महिने वाद्यवादन र तीन महिने सिलाई कटाई तालिम एकैदिन एउटैस्थलबाट उद्घाटन भएको थियो । वाद्यवादनको एक महिने अवधि पुरा भएको छ ।

 

यस्ताखाले सीपमूलक तालिम व्यहारमा लागू गर्दै व्यवसायिकता समेत हाँसिल गर्नुपर्ने कुरामा जोड दिएको ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापाले जनाउनु भयो ।
वडाको सीप विकास कार्यक्रम अन्तर्गत वाद्यवादनकालागि १ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । सो तालिममा १५ जनाको सहभागिता रहेको छ ।

Share: