दमक, माघ २४
साहारा चितवन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस बिहीबार पनि जारी रहेको छ ।
बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयान पछि सुरु भएको थुनछेक बहस नसकिएकाले आज पुनः बहस हुने भएको हो । बुधबार बहस नसकिए पछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासतमा पठाइएको थियो ।
बुधबार वादीतर्फका सरकारी वकिलको बहस सकिएको थियो । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ । बहस सकिए आजै आदेश आउने सम्भावना रहेको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।
यसअघि लामिछाने कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ६० लाख र १ करोड धरौटी बुझाएर छुटेको अवस्था थियो ।