दमक, माघ २५
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले दैनिक करिब १.१२ किलोमिटरका दरले झण्डै २ सय किलोमिटर सडक कालोपत्रे गरेको छ ।
जसमध्ये दुई लेन सडकतर्फ १८१.४२ किलोमिटर तथा चार लेन सडकतर्फ २०.५८ किलोमिटर सडक कालोपत्रे गरिएका छन् ।
चालु आर्थिक वर्षभित्र दुई लेन सडकतर्फ ८०० किलोमिटर र चार लेनतर्फ १२० किलोमिटर गरी कुल ९२० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ ।
त्यस्तै, यो अवधिमा २१ वटा पुल निर्माण गरिएका छन् ।
चालु आर्थिक वर्षमा कुल ५ किलोमिटर रेलवे ट्रयाकबेड निर्माण गर्न लागिएकोमा २ किलोमिटर सम्पन्न भएको छ । त्यस्तै, रेलवे अन्तर्गत ३ वटा पुल निर्माण गर्ने लक्ष्यमा सबै निर्माण सम्पन्न गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै हुलाकी राजमार्गमा ४२.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । त्यस्तै, मध्यपहाडी पुष्पलाल लोकमार्गमा ११ किलोमिटर लगायत रहेको छ ।
यो वर्ष भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत १ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । दोस्रो त्रैमाससम्म यो रकममध्ये ३५ अर्ब ४८ करोड १८ लाख रुपैयाँ खर्च भएको छ जुन २३.५९ प्रतिशत बराबर हो ।