एजेन्सी, माघ २७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैर कानुनी रुपमा बस्दै आएका आप्रवासीलाई आफ्नै देश फर्काइदिन थाल्यो । तर त्यस निर्णयको विरुद्धमा लड्नका लागि क्यालिफोर्निया प्रान्तिय सरकारका गभर्नर गेभिन न्युसमले ५० मिलियन अमेरिकी डलर खर्च गर्ने गरी हस्ताक्षर संकलन गर्न थाल्नुभएको छ ।
सङ्घीय सरकारका विरुद्धमा कानुनी लडाइँ लड्नकालागि प्रान्तिय सरकारले चुनौतीपूर्ण रुपमा हस्ताक्षर अघि बढाएपछि टकराव भएको छ ।
पहिलो कार्यकालमा पनि राष्ट्रपति ट्रम्पको क्यालिफोर्निया राज्यसँग जलवायु नियम, पानी नीति र आप्रवासी अधिकारको विषयमा तनाव भएको थियो । यसरी टकराब भएपछि क्यालिफोर्निया राज्यले ट्रम्प प्रशासनको विरुद्धमा सय भन्दा बढी कानुनी लडाइँ लडेको थियो ।
आप्रवासी फर्काउने ट्रम्पको योजना अनुसार भारतका १ सय भन्दा बढीलाई फर्काइसकिएको छ । भारतसहित ब्राजिल, ग्वाटेमाला, पेरु र होन्डुरसका नागरिकहरूलाई पनि सोही तरिकाले सैन्य विमानमा राखेर निकाला गरिएको थियो । ट्रम्पले कोलम्बियाका अवैध आप्रवासीहरूलाई सेनाको विमानमार्फत् देश फर्काउने घोषणा गरेपनि कोलम्बियाका राष्ट्रपतिले पनि त्यसको चर्को विरोध गर्नुभएको छ ।