शिक्षकहरु देशव्यापी आन्दोलनमा, पालिकाकहरुलाई ध्यानाकर्षणपत्र

दमक, फागुन ७
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशव्यापी आन्दोलन अअिघि बढाएको छ । आन्दोलनका बारेमा पालिकाहरुलाई ध्यानाकर्षण गराउँदै सहयोगका लागि अपिल गरिएको छ ।

 

 

यसक्रममा नेपाल शिक्षक महासंघ दमकका अध्यक्ष कृष्णप्रसाद भण्डारी र सचिव मेदेनीप्रसाद खनालद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्र दमक नगरपालिका कार्यालयमा बुझाइएको छ । सो पत्रमा शिक्षक र कर्मचारीका हकाधिकारका विषय उल्लेख छ । जसमा शिक्षक सरुवा कार्यविधिको खारेजी, बढुवा, तलबमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, मासिक तलब भुक्तानी लगायतका सामान्य विषय पनि सम्बोधन नभएको उल्लेख गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न जोडदार माग गरिएको छ ।

 

२०७५, २०७८ र २०८० मा भएका आन्दोलनपछि विद्यालय शिक्षा ऐन जारी गर्ने सरकारसँग सहमति भएपनि हालसम्म ऐन बनाउने कुरामा तदारुकता नदेखाएपछि पुनः आन्दोलनमै उत्रिन बाध्य हुनु परेको उल्लेख छ । अर्कातर्फ विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामै रहेको बेला शिक्षकहरुको भावना विपरीत निबृत्तीभरण अध्यादेश जारी हुनु निन्दनीय कार्य भएको महासंघको ठहर छ ।

 

बिर्तामोडका तर्फबाट पनि नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ अघि बढेको यो आन्दोलनलाई सहयोग र समर्थन गर्न सवै शिक्षा सरोकार पक्षसंग अपिल गरेका छन् ।

 

 

२०८१ माघ १६ र १७ गते बसेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार पहिलो चरणका आन्दोलनका कार्यक्रम थालनी गरेको उल्लेख छ । आन्दोलन अघि बढ्दै जाँदा आगामी चरणमा अवरोधात्मक,अवज्ञा (बहिष्कार ) र काठमाडौं केन्द्रित सडक आन्दोलनका कार्यक्रमहरु लिएर हामी अघि बढ्ने जनाइएको छ ।

 

विगतमा भएका सवै सहमति सम्बोधन हुने गरि विद्यालय ,विद्यार्थी ,शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन अब आन्दोलनमा जानु बाहेक अर्को विकल्प नरहेको स्पष्ट पारिएको छ ।

 

Share: