दमकमा भजनकिर्तन मण्डलीलाई पनि वाद्यवादनमा दक्ष बनाइँदै

दमक, फागुन ७
कोशी प्रदेशका जुनसुकै पालिकामा पनि टोल टोलमा भजन किर्तन समूह बढेका छन् । भजन किर्तन गरेर शान्तिको महसुस गर्दै मन आनन्दित गराउने यो मेसोमा वाद्यवादनको पनि महत्व बढ्दै छ । यस हिसावले झापाको दमक ८ नम्बर वडाले भजन किर्तन मण्डलीकालागि वाद्यवादन तालिमकै आयोजना गरेको छ ।

 

२ महिने निःशुल्क तालिमको उद्घाटनका अवसरमा बोल्दै नगर प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेशले वडामा भजन किर्तनको संस्कृति संरक्षणमा टेवा पुर्याउँदै कला क्षेत्रको ज्ञान हाँसिल गराउने हिसावको कार्यक्रम रहेको बताउनु भयो । उहाँले भजन गाउँदै मनमा आनन्द लिँदा त्यसले स्वास्थ्यमा समेत फाइदा पुर्याउने र समाजलाई जोड्ने काममा मद्धत पुग्ने पनि विचार व्यक्त गर्नुभयो ।

 

वडामा रहेकामध्ये सम्पर्कमा आएका १२ वटा किर्तनमण्डलीकालागि मादल, हार्मोनियमसहितका वाद्यवादन बजाउने निःशुल्क तालिम अघि सारिएको हो । वडाले सहभागिमध्ये ५ वटा समूहलाई तालिम समापनसँगै एक एक थान हार्मोनियम वितरण गर्ने योजना बनाएको छ । यसखाले तालिम लिएपछि बढी मात्रामा अभ्यासकै जरुरत पर्ने तालिमका सहजकर्ता विहानी कला केन्द्र दमक शाखाका सञ्चालक हेमन्त रिजालले उल्लेख गर्नुभयो ।

 

सो अवसरमा वडाले भजन किर्तन मण्डलीको सूचीकरण प्रमाणपत्र समेत वितरण गरेर समूहलाई संस्थागत र वडासँगको सहकार्यमा जोडेको छ । सृजना क्षेत्रसँग जोडिएको यसखाले गतिविधिप्रति खुसी लागेको सहभागिमध्येकी शुभद्रा कोइरालाको प्रतिक्रिया छ ।

Share: