पथरी, फागुन ७
बेलबारी बहुमुखी क्याम्पसमा अनुसन्धान अक्षयकोष निर्माणार्थ पत्रकार एवम् लेखक केशु विरहीद्वारा लिखित ’उपद्रष्ट्रा हर्कमान तामाङ’ पुस्तक बुधबार बेलबारीमा लोकार्पण गरिएको छ ।
बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एण्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह – आयोजनामा कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले पुस्तक लोकार्पण गर्नु भएको हो ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, उप –प्रमुख नितु थापा कोइराला, पूर्व सांसद हर्कमान तामाङ , विनोद ढकाल, साहित्यकार मिश्र वैजयन्ती, भाषाविद अमृतप्रसाद आचार्य, समीक्षक डा. दिपक न्यौपाने, अनुवादक तथा साहित्यकार छवि विरहीसहित विभिन्न साहित्यिक, शैक्षिक अभियन्ता तथा राजनैतिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । गत वर्ष बेलबारीमा साहित्य विकासका लागि १५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो ।
पुस्तकहरू खोज तथा अनुसन्धान गरी प्रकाशित गर्नु भएका कृतिकार केशु विरहीले यस पटक बेलबारी क्षेत्रका शैक्षिक तथा राजनैतिक व्यक्तित्व हर्कमान तामाङको योगदान बारे खोज अनुसन्धान गरी प्रकाशित गर्नुभयो । पुस्तक बिक्रीबाट भएको ५० प्रतिशत रकम बेलबारी बहुमुखी क्याम्पसमा अनुसन्धान अक्षयकोष निर्माणार्थ खर्च गरिने उद्देश्य राखिएको छ ।
यसैगरी, बेलबारी साहित्यको विकासमा भाषाविद अमृत प्रसाद आचार्यले कृतिकार विरहीले निरन्तर खोज र अनुसन्धान गरेर विशिष्ट योगदान दिएको बताउनु भयो । बेलबारी क्षेत्रमा शैक्षिक, राजनीति, साहित्य विकासका लागि शैक्षिक अभियान्ता हर्कमान तामाङको विशिष्ट योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा बेलबारी क्याम्पस प्रमुख उपेन्द्रप्रसाद कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।