दमक, फागुन ९
सँगै पढ्ने साथी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी नेपाल फर्किएका छन् ।
केआईआईटीमा अध्ययनरत १५९ विद्यार्थी रक्सौलको बाटोहुँदै स्वदेश फर्किएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले जनाउनु भयो ।
आइतबार नेपाली छात्रा लम्सालको शंकास्पद मृत्युपछि मंगलबार केआईआईटीका तीन निर्देशक र दुई सुरक्षाकर्मीलाई पक्राउ गरी न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी–२ अदालतले २० हजार भारतीय रुपैयाँको धरौटीमा रिहा गरेको ओडिसा टिभीले जनाएको छ ।
वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए । लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले न्यायिक छानबिन हुनुपर्ने युवा विद्यार्थीको माग छ ।









