दमक, फागुन ९
फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन केपी ओली कप फुटबल प्रतियोगिता हेर्न नेपाल आउने हुनु भएकोे छ ।
इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन यही फागुन ११ देखि १९ गतेसम्म हुने तेस्रो संस्करणको फाइनल खेल दौरानमा काठमाडौं आउने प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बताउनु भयो । उहाँले बफोनसँग सम्झौता भइसकेको पनि जनाउनु भयो ।
बफोनअघि ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोस जस्ता खेलाडीहरुलाई ल्याउने प्रस्ताव गरेपनि ती खेलाडी नआउने भएपछि बफोनलाई ल्याउन लागिएको संघका सचिव निरोज पौडेलले उल्लेख गर्नुभयो ।
बफोन नेपाल आएमा विश्व फुटबलकै ठूला खेलाडीको पहिलो पटक नेपाल आगमन्को रेकर्ड रहने जनाइएको छ । बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेल्नु भएको थियो । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेर सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपरका रुपमा पहिचान बनाउनु भएको छ । उहाँले इटलीका लागि ८० खेलमा कप्तानी समेत गर्नुभएको छ ।
केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशीसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।









