पथरी, फागुन १०
मोरङको पथरिशनिश्चरे १ को पञ्चायत माविका कानुन समुहका छात्र–छात्राहरूले लेटाङ नगरपालिकाको न्यायिक समितिको इजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन् ।
कक्षा –११ र १२ का विद्यार्थीहरूले सो पालिकाका प्रमुख भुपेन्द्रकुमार लावती, न्यायिक समितिकी संयोजक तथा उपप्रमुख कृष्णकुमारी निरौला पोख्रेलसहितका जनप्रतिनिधिहरुसित अन्तरक्रिया गरेका हुन् ।
अन्तरक्रियामा कक्षा १२ की छात्रा प्रभा दाहालले न्यायिक समितिमा वादी– प्रतिवादी वाहेक अन्यले हेर्न पाउँदैनन् ? भनेर ज्ञिज्ञासा राख्नुभएको थियो भने अर्की छात्रा निमा चेम्जोङ र छात्रा मिमोसा तामाङले न्यायिक समितिले विवादहरू कसरी निरूपण तथा सम्पादन गर्दछ ? भनेर सवाल गर्नुभएको थियो ।
अन्तरक्रियामा सवालहरूको जवाफहरू दिदै लेटाङ नगरकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक कृष्णकुमारी निरौला पोख्रेलले विद्यार्थीहरूलाई न्याय सम्पादन, प्रक्रिया र विधिहरूका बारेमा अवगत गराउनुभएको थियो । सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले कानुनी जटिलताहरूका विषयमा चर्चा गर्नु भएको थियो।
सोही क्रममा कक्षा –११ का विद्यार्थीहरूले इजालसमा कसरी न्याय सम्पादन हुन्छ भन्ने प्रत्यक्ष अवलोकन गरेका थिए । न्यायिक निरूपणमा संयोजक जितबहादुर लामा, सदस्य पर्शुराम निरौला र परामर्शकर्ता शारदा राई समेत सहभागिता रहेको थियो ।
नपाका योजना प्रमुख चेतनाथ गौतम, न्यायिक समितिका सदस्य मुना सार्की तथा समितिका नवीन लिम्बूसमेतको सहभागिता रहेको कार्यक्रममा पञ्चायत माविका प्रतिनिधि शिक्षक द्वय भूमिप्रसाद पाठक र केशव निरौलाको अगुवाई रहेको थियो ।










