दमक, फागुन १३
रिडर्स झापाले फागुन १४ देखि १६ गतेसम्म जिल्लाको काँकडभिट्टामा पाँचौं संस्करणको ‘कला साहित्य उत्सव २०८१ : पर्यावरण विमर्श’ आयोजना गरेको छ । वक्ताका रुपमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी हुँदैछन् ।
फागुन १६ गतेको कार्यक्रममा वक्ताको रुपमा भारतका चर्चित अभियन्ता सोनाम वाङचुक पनि सहभागी हुनुहुने आयोजक सदस्य पर्वत पोर्तेलले जनाउनु भयो । वाङचुकको संघर्षमा आधारित रहेर भारतमा थ्री इडियट्स चलचित्र बनेको छ । चलचित्रमा आमिर खानले वाङचुकको भूमिका निर्वाह गर्नुभएको थियो ।
पर्यावरणको विषयमा आयोजना गरिएको बहस नेपालमा यो पहिलो पटक भएको दाबी गरिएको छ । पर्यावरण विमर्शका लागि रिडर्स झापाले गत वैशाखदेखि छलफल चलाएको थियो । तीन दिनसम्म पर्यावरण र जलवायु संकटसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ ।
उत्सवमा धनगढीकी नन्दादेवी कुँवर, चितवनका वीरेन्द्र महतो, भारत लद्दाखका सोनाम वाङ्चुक, गोर्खाका उत्तमबाबु श्रेष्ठ, बिर्तामोडकी हर्कमाया विक, ताप्लेजुंगकी झुमा लिम्बु, भद्रपुरका निताई राजवंशी, इलामका केदार शर्मा, वीरगञ्जका चन्द्र किशोर, खोटाङका भोगीराज चाम्लिङ, सिलगढीका राजा पुनियानी, काठमाडौंकी अर्चना थापा, तेह्रथुमका सबिन निङ्लेखु, सिक्किमका मायल मित, कालिम्पोंगकी एलिएन फोनिङ्, कलकत्ताका देबल देव, रसुवाका गुरुङ सुशान्त, काँकरभिट्टाका छितेन शेर्पालगायत पर्यावरणको क्षेत्रमा सक्रिय अभियन्ता रहनुहुनेछ ।
पहिलो दिन मुख्य वक्ताको रुपमा उत्तमबाबु श्रेष्ठ छन् । सोही दिन कन्चनजंगा टु बङ्गाल,साहित्यमा मान्छेको अधिपत्य, संरक्षण कसले सकुदाय कि सरकार, सिर्जनाको प्रकृतिका विषयमा प्यानल छलफल हुनेछ ।
दोस्रो दिन कोलकाताका अभियान्ता देबल देव मुख्य वक्ताको रुपमा छन् । त्यसपछि कृषिः खाना कस्तो ? नाफा कति, विद्यालयको पर्यावरण, ससाना प्रलय सामना कसरी र राजनीतिको पर्यावरण विषयमा समूहमा छलफल हुनेछ ।
तेस्रो दिन बिहान १० बजेदेखि १ घण्टा वाङचुक मुख्य वक्ता रहनु हुनेछ । त्यसपछि नगरको कहर,पर्यापर्यटन सम्भावनाको सागर, रैथाने ज्ञानको गहिराइ र कस्को धर्ती कस्को आकाश विषयमा प्यानल छलफल हुनेछ । हरेक दिनको छलफल पछि नाटक प्रस्तुत हुनेछ ।









