दमक, फागुन १७
आधुनिक विकासका नाममा लिम्बू जातिहरु आन्तरिक र बाह्य रुपमा कसरी लास सरह भइरहेका छन् भन्ने कुरालाई इंकित गर्दै निर्माण गरिएको लिम्बू भाषाको चलचित्र ‘चे’ अर्थात ‘लास’लाई फागुन २६ मा दमकमा प्रदर्शन गरिने भएको छ ।
माङ्गेन्ना पब्लिकेशन मिडिया प्रालि र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र फागुन २६ मा दमकस्थित डिम्याक्स सिनेमा हलमा विशेष प्रदर्शनी हुने जानकारी गराएको हो । निर्माता समेत रहनु भएका चलचित्रका लेखक एवम् निर्देशक सागर केरुङले आधुनिक विकासका नाममा थाक्थुङ आदिवासीहरुको लास समाधि गर्ने स्थल नासिएको विषयलाई साँस्कृतिक गाम्भिर्यताका रुपमा चलचित्रमा उतारिएको बताउनु भयो ।
चलचित्र आधुनिकताका नाममा सांस्कृतिक सम्पदा नास्ने र जोगाउने बीचको द्वन्दात्मक कथाका रुपमा रहेको प्रष्ट्याउनु भयो ।
चलचित्र पाँचथर क्षेत्रमा छायांकन गरिएको छ । चलचित्रमा सागर केरुङ, विमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, प्रतिभा लिम्बू लगायतको अभिनय रहेको छ ।
०७८ को जनगणना अनुसार लिम्बू जातिको जनसंख्या साढे ३ लाख रहेको उल्लेख छ ।









