एजेन्सी, फागुन २२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्नका लागि चेतावनी दिनु भएको छ ।
‘मैले यो काम सक्नका लागि इजरायललाई सबै कुरा उपलब्ध गराएको छु । मैले भने अनुसार नगरेमा हमासको एउटा पनि सदस्य बाँकी रहने छैन,’उहाँले सामाजिक सञ्जाल ट्र्थ सोसलमा लेखेका छन् ।
बन्दी रिहाइका लागि अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरा आएपछि ट्रम्पले सामाजिक सञ्जालमा यस्तो चेतावनी दिनु भएको जनाइएको छ । युद्ध विरामपछि रिहा भएका बन्दीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि ट्रम्पको त्यो पोस्ट सार्वजनिक भएको हो ।
उहाँले हरेक जीवित व्यक्ति रिहा गर्न तथा मृतकको शव तत्काल हस्तान्तरण गर्न तथा हमास नेतृत्वलाई तत्काल गाजा छाड्नसमेत चेतावनी दिनु भएको छ । ‘बन्दी रिहाइ नगरेमा हमासले कल्पनै नगरेको कठिन समयको सामना गर्नुपर्नेछ ।’ उहाँले भन्नुभयो । बन्दी रिहाई नभएमा गाजावासीले पर्खिरहेको सुन्दर भविष्य निर्माण नहुने समेत उहाँको भनाई छ ।
प्यालेस्टाइनी स्रोतका अनुसार यो बीचमा हमास र अमेरिकी अधिकारीबीच दुई पटक वार्ता समेत भइसकेको बीबीसीले जनाएको छ ।









