पथरी, फागुन २३
उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा पहिलो पटक संगिनी महोत्सव हुने भएको छ ।
वडा नम्बर ३ को महिला जागरुक हरिकिर्तन समूहले शनिबार (भोलि) प्रथम संगिनी महोत्सवको आयोेजना गरेको संगिनी संरक्षणमा लागेका युवा अर्जुन काफ्लेले जनाउनु भयो । १० वटा समूह महोत्सवमा सहभागि भइ आफ्ना प्रस्तुति दिने, संगिनी बारे बहस उठानका रुपमा पत्रकार एवम् साहित्यकार भूपेन्द्रराज तिम्सिनाले अवधारणापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकोे छ । कार्यक्रम पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता रहने छ ।
संगिनी संरक्षण र पुस्ताहस्तान्तरणको हुटहुटीमा विगत ५ वर्षदेखि पथरी शनिश्चरे ३ शान्ति टोलका महिला समुदाय प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेर लागिपरेको अवस्था अझ उदाहरणीय बन्ने हिसावले यसखाले ऐतिहासिक काम अघि बढेको छ । यो नेपालकै सम्भवत पहिलो संगिनी महोेत्सव हो ।
२०६२ माघ १८ गते भजन किर्तन गर्न धार्मिक कार्यमा सघाउन रेणुकादेवी काफ्ले अध्यक्ष रहेर स्थापना भएको महिला जागरुक हरिकिर्तन समूह २०७६ बाट संङ्गिनी नाचको संरक्षणमा जुट्न थाल्यो । २०८० साउन ३० गते दर्ता नम्बर ४६ मा पथरीशनिश्चरे नगरमा बिधिवत दर्ता भएर कार्य गर्दै आएको छ । अर्थात नगरमा पहिलो पटक संगिनी समूह दर्ता भएको छ । देवीमाया पोख्रेलको नेतृत्वमा महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहका रुपमा प्रत्येक हप्ताको मंगलबार साँझ संगिनी प्रशिक्षण कार्यक्रम चलाएर युवा पुस्तालाई यसको संरक्षणमा झकझकाएको अवस्था छ । संगिनी संरक्षणमा आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्ने मात्र होइन नजिकका विद्यालयमा गई विद्यार्थीलाई पनि संगिनीको महत्व बुझाएर समूह मौलिक संस्कृति संरक्षणको जाँगरिलो उदाहरण बनेको छ ।
समूहले यसअघि यसै वर्ष संगिनी प्रतियोगिताको आयोजना गरेको थियो ।









