दमक, फागुन २९
विद्यालयको पढाईलाई थप मजबुत बनाउन हजारौं रकम तिरेर विद्यार्थीहरुले ट्युसन पढ्ने गरेका छन् । कतिपय विद्यालयले त विद्यालयमै अतिरिक्त समयमा कोचिङ भन्दै शुल्क लिएर पढाउने समेत गरेको पाइन्छ । तर झापाको दमक ९ मा ट्युसनको क्षेत्रमा फरकखाले काम भइरहेको छ ।
अर्थात आर्थिक अवस्थाले कठिनाई भएको त्यहाँको उराउ बस्तीका बालबालिकालाई वडा कार्यालयले निःशुल्क ट्युसन पढाउने व्यवस्था गरिदिएको छ । जसले गर्दा आफ्ना बालबालिकाको सिकाईलाई उकास्न मद्धत पुगेको अभिभावक मटन उराउ र भादेतिर्की उराउसहितले बताउनु भयो ।
आर्थिक अवस्थाले कमजोर चिया मजदुरको सो बस्तीमा बाबुआमा बिहानदेखि मजदुरीमा व्यस्त रहँदा बालबालिकाले उचित हेरचाहकासाथै पठनपाठनमा निर्देशन दिन र अभिभावकत्व ग्रहण गर्न केही समस्या भइरहेको देखिन्छ । सो अवस्थालाई मध्यनजर गरेर त्यहाँका बालबालिकालाई पठपाठनमा सुधार ल्याउने कुरामा सघाउन वडाले निःशुल्क ट्युसनको लागि व्यवस्थापन गरेको वडा सदस्य नरेश सुनुवारले जनाउनु भयो ।
स्थानीय समाजसेवी लक्ष्मीप्रसाद बरालले उराउ बस्तीमा वडाले थालेको ट्युसनले शिक्षामा ठूलो मद्धत पुगेको भन्दै त्यस कार्यको सह्राना गर्नुभयो । साथै उहाँले बालबालिकाकालागि खेलकुदको व्यवस्थापनको आवश्यकता औंल्याउनु भयो ।
वडाले सो ट्युसनकालागि हाललाई कापी, डटपेन, पेन्सिल उपलब्ध गराई दुई जना शिक्षकको प्रवन्ध गरिदिएको छ । प्रति शिक्षक मासिक ९ हजारका दरले रकम उपलब्ध गराएर उराउ वस्तीको सामुदायिक भवनमा बिहानको समय ट्युसन पढाउने व्यवस्था गरिएको छ । यसकासाथै वडाले एसईर्ईको तयारी कक्षा सञ्चालनमा पाणिनी माविकालागि २५ हजार रुपैयाँ छुट्याएको छ ।










