दमक, चैत ४
चैत ५ गते हुने स्ववियु निर्वाचनले देशभरका त्रिभूवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा माहोल तातेको छ ।
निर्वाचनको अन्तिम तयारी गरेर बसेका कतिपय क्याम्पसमा चुनावमा होमिएका विद्यार्थीहरुको समूहमा भने विवाद र समस्या देखिएको छ ।
यस्तै समस्या देखिएको छ दमकस्थित दमक बहुमुखी क्याम्पसमा पनि । यहाँ खास गरेर नेपाली कांग्रेस अन्तर्गतको नेवि संघको आधिकारिक उम्मेद्धवार को हो भन्ने कुरा नै विवादमा छ ।
नेवि संघको तर्फबाट सायन साम्पाङ, भूपेन्द्र बस्नेत वा दीपक मादेनमध्ये आधिकारिक को हो भन्ने कुराको दावी आ–आफ्नै छ । उसो त दीपकले भूपेन्द्रलाई अधिकारिक उम्मेदवार मान्दै आफ्नो समर्थन भूपेन्द्रलाई रहेको भनेर सामाजिक सञ्जालमार्फत घोषणा गरिसक्नु भएको छ ।
यता साम्पाङ र बस्नेत भने दुवैले आफु आफुलाई नै आधिकारिक भन्दै प्रचार मात्रै गरिरहनु भएको छैन सोमबार छुट्टा छुट्टै पत्रकार सम्मेलन गरी आआफ्नो अधिकारिकता दावी गर्नुभयो ।
बस्नेतले आफु नेविसंघ, अखिल क्रान्तिकारी र प्रजातान्त्रिक विद्यार्थीको तर्फबाट संयूक्त उम्मेदवार रहेको भन्दै पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्नु भयो । उहाँले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काग्रेसका बिभिन्न पदाधिकारी, कार्यवाहक क्षेत्रीय सभापति, नेविसंघका उपल्लो कमिटीका पदाधिकारी तथा सदस्य साथै साझेदार संघ संगठन अन्तर्गतका पार्टीका प्रमुखहरुको उपस्थिती रहेको थियो । सो सम्मेलनमा बोल्दै बस्नेत सबैको साथ र समर्थन आफूमा रहेकोले आफू नै नेवि सघंको आधिकारिक उम्मेद्धवार रहेको दावी गर्नु भयो ।
यता नेवि संघको दमक क्याम्पस इकाई समितिको ब्यानरमा अर्को पत्रकार सम्मेलन गर्दैै सायन साम्पाङ चाँही आधिकारिक भन्दै पत्रकार सम्मेलन गरियो । यसमा पार्टीको दमक नगर समितिका सभापति प्रकाश प्रसाई, नेविसंघ झापा जिल्ला सभापति सञ्जय निरौला, संविधानसभा सदस्य तथा नेपाली काग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी सुब्बा लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै नेविसंघ झापाका सभापति निरौलाले भूपेन्द्र बस्नेत नेवि संघको उम्मेदवार नभएर बागी उम्मेदवार रहेको उल्लेख गर्नु भयो ।
दमक क्याम्पसमा बिगत देखि नै बिरासत राख्दै आएको नेवि संघ यो पटक दुई भागमा विभाजित भएको छ । त्यसपछि साङ्गठानिक रुपमा बलियो मानिएको अनेरास्ववियुलाई यो पटक जित निकाल्ने मौका पनि मिलेको छ । अनेरास्ववियुका अध्यक्ष पदका उम्मेद्धवार निशम अधिकारी भन्नु हुन्छ ‘हामी विद्यार्थीहरुको समस्यालाई भूँईं देखि नै समाधान गर्न चुनावी मैदानमा उत्रिएका हौ । विद्यार्थीको समस्या थाहा पाउन हामी स्ववियु सभा गराउँदै सबै विद्यार्थीहरुको भावना, राय र सुझाव लिएर आफ्ना गतिविधि अघि बढाउने छौ ।’
यता, हामी स्वतन्त्र हौं भन्ने समूह बनाएर चुनावी मैदानमा उत्रिनु भएकी रश्मी उप्रेतीलाई सबैले खतराको संकेतका रुपमा हेरेका छन् । यस अघि नेवि संघको इकाई समितिमा बसेर साङ्गठानिक गतिविधि गर्दै आउनु भएकी उप्रेती अहिले चुनावका बेला हामी स्वतन्त्र हौं भन्दै प्यानल नै बनाएर चुनावी मैदानमा हुनुहुन्छ । तर उहाँले सामाजिक सञ्जालमा संगठनका विरुद्धमा आफुले उम्मेदवारी दिएको भन्दै आए पनि उज्यालो खबरको क्यामेरामा भने उहाँ बोल्न चाहनु भएन ।
यसरी विद्यार्थीहरु चुनावी माहोलमा लागिरहेका बेला क्याम्पसको निर्वाचन समितिले विद्यार्थीहरुको मताधिकार सुरक्षित गर्न आवश्यक सबै कामहरु गरिसकेको समितिका संयोजक टंक भट्टराईले जानकारी दिनुभयो ।
विद्यार्थीहरुको चुनाव भए पनि पार्टी र यसका नेतृत्वहरुले यसलाई आफ्नो गरिमा र प्रतिष्ठाका रुपमा लिँदा विद्यार्थीको चुनाव पेचिलो बनिरहेको छ ।